Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घरेलु कामदार युवतीको मृत्युपछि परिवारलाई पत्तै नदिई मध्यराति शव जलाइयो

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुटविकासको चोकका समयलाल गुप्ताकहाँ घरेलु कामदारका रूपमा काम गर्ने २१ वर्षीया संगीता चौधरी यही फागुन ९ गते एक्कासि बिरामी परिन्। निरन्तर रगत बान्ता गरेपछि उनलाई गुप्ताले पञ्चकोसी अस्पताल लगे। सामान्य उपचारपछि त्यही दिन आफ्नो कोठमा फर्काए। तर उनले संगीता बिरामी परेको जानकारी उनको परिवारलाई दिएनन्। भोलिपल्ट साँझ संगीता फेरि बिरामी परिन्। गुप्ताले त्यही अस्पताल लगे। प्रहरीका अनुसार अवस्था गम्भीर बनेपछि पञ्चकोसी अस्पतालकै सल्लाहमा गुप्ताले संगीतालाई विराटनगरस्थित कोसी अस्पताल पुर्‍याए। तर त्यहाँ पुर्‍याउनासाथ उनको मृत्यु भयो। तर पनि गुप्ताले संगीताको परिवारलाई जानकारी दिएनन्। बरु त्यही राति उनले शव खुसुक्क इटहरीकै बूढीगंगा जमुना मुक्ति घाटमा लगे र जलाए। यो कुरा स्थानीय छिमेकीबाट थाहा पाएपछि प्रहरीमा जाहेरी दिइएको संगीताकी दिदी रीता परियारले बताइन्। उनले भनिन्, गुप्ताले नै बहिनीको हत्या गरेर मध्यरातमा शव जलाएको हो भनेर किटानी जाहेरी दिएकी छु। घटना हुनुभन्दा केही दिनअघि मात्र गुप्ताले संगीतालाई मरणासन्न हुने गरी कुटपिट गरेको पाइएको रीताको भनाइ छ। परिवारलाई खबरै नगरी मध्यरातमा दाहसंस्कार किन गरियो, उनको प्रश्न छ। पछिल्लो २ महिनादेखि श्रीमान्‌ले छाडेपछि संगीता गुप्ताकहाँ घरेलु कामकार बनेर काम गरिरहेकी थिइन्। उचित पारिश्रमिक दिने भनेर गुप्ताले संगीतालाई आफ्नो कोठामा लगेको रीताले सुनाइन्। इटहरीमा ट्रान्सपोर्ट व्यवसाय गर्ने गुप्ता जुटविकासमा डेरा लिएर बसेका हुन्। उनको घर भने मोरङको विराटनगर महानगरपालिका(४ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा ६४ वर्षीय गुप्तालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। गुप्ताविरुद्ध जिल्ला अदालत सुनसरीबाट हिरासत म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।


सम्बन्धित समाचार