Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चर्का कुरा गर्नेलाई तह लगाउन कांग्रेस बैठक प्रत्यक्ष प्रसारणको तयारी

काठमाडौँ । पार्टीमा एउटा कुरा गर्ने बाहिर मैदानमा चर्का भाषण गर्ने शैली उदांगो बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव राखेका छन् । कुनै पनि राष्ट्रिय दलले आन्तरिक बैठक लाइभ नगरेका बेला देउवाले पहिलोपल्ट यस्तो प्रस्ताव अघि सार्नुलाई कतिपय नेताले रणनीतिक योजना भन्दै अर्थपूर्ण रूपमा लिएका छन् । मंगलबारबाट हुने बैठकका एजेन्डामाथि छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको अनौपचारिक बैठकमा देउवाले अन्तर्राष्ट्रिय प्रचलनको उदाहरण पस्कँदै बैठक लाइभ गर्ने प्रस्ताव ल्याएका थिए । सभापति देउवाको प्रस्तावमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतको असहमति थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने लाइभ गर्दा सकारात्मक सन्देश नै जाने धारणा राखेका थिए । पदाधिकारी र पूर्वपदाधिकारीबीच मत बाझिए पनि देउवाको निर्देशनअनुसार पार्टीको केन्द्रीय कार्यालयका कर्मचारीले फेसबुक ‘लाइभ’ का लागि क्यामरालगायतको प्राविधिक प्रबन्ध गरिसकेका छन् । पार्टीभित्र संसदीय दल नेता परिवर्तन गर्ने एजेन्डा बनाएर महामन्त्री थापाले सार्वजनिक मञ्चहरूमै नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले त्यसको सामूहिक प्रतिवाद गर्ने योजना देउवाले बनाइरहेको कांग्रेसका एक पदाधिकारीले बताए । कांग्रेसले प्रधानमन्त्री पाउँदा देउवाको विकल्प खोज्नुपर्ने र त्यसका लागि सके आफैं सर्ने र नसके अर्कोलाई सार्ने थापाले बताउँदै आएका छन् । ती पदाधिकारीका अनुसार नक्कली भुटानी शरणार्थीर् प्रकरणमा मुछिएका पार्टीका नेता बालकृष्ण खाणको प्रतिरक्षा गर्ने योजनालाई थापाको प्रतिवादले अप्ठ्यारो बनाइरहेको विषय पनि जोडिएको छ । पुर्पक्षका लागि थुनामा रहेका खाणलाई निलम्बन गर्न सभापति देउवा तयार नभएपछि महामन्त्री थापाले जेठ २ मा विज्ञप्ति निकालेका थिए, जसमा खाण निलम्बन हुनुपर्ने भनिएको विषय देउवालाई पचेको थिएन । सोमबारको बैठकमा पनि देउवाले खाणलाई निलम्बन गर्न परम्पराले नदिने बताएका थिए । महामन्त्रीद्वय थापा र शर्माले असार २१ र २२ मा जिल्ला सभापतिहरूको बैठक राखेकामा पनि देउवाले गम्भीर असन्तुष्टि जनाएका छन् । पार्टी सदस्यता व्यवस्थापनको मुद्दामा दुई महामन्त्रीले काठमाडौंमा बोलाएको जिल्ला सभापतिहरूको बैठकमा देउवा उपस्थित थिएनन् । यी सबै विषयलाई केन्द्रमा राखेर प्रतिरक्षा गर्ने र महामन्त्री थापाको भूमिकाप्रति संगठित रूपमा विरोध गर्ने रणनीति बनाएरै देउवाले बैठक लाइभ गर्ने प्रस्ताव अघि सारेको संस्थापन इतरपक्षीय नेताहरूको बुझाइ छ । संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्की भने बैठक लाइभ गर्ने सभापतिको प्रस्तावमा कुनै रणनीतिक उद्देश्य नभएको दाबी गर्छन् । सहमहामन्त्री बद्री पाण्डेका अनुसार सभापति देउवाले लाइभ नगरे पनि सबै कुरा बाहिरिने गरेको र बाहिरी मुलुकमा पनि राजनीतिक दलका बैठक लाइभ हुने गरेको उल्लेख गरेका थिए ।