Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र प्रदर्शनीमा एकआपसमा प्रतिस्पर्धा गर्दा केहि फरक पर्दैन

नृत्यकारको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका शेखर लामा चलचित्र ‘छल’ बाट निर्माताको रूपमा देखा परेका हुन् । निर्माता लामाले सोही समयमा आफ्नै पोस्ट प्रोडक्सन स्थापना गरि अन्य चलचित्र ‘हिरोज’ लगायत चलचित्र ‘टुल्की’ सम्म आइपुग्दा पाँच वटा चलचित्र निर्माण गरिसकेका छन् । हाल २ वटा चलचित्र ‘लुसु’ र ‘दमिनी गाउँ’ को निर्माण तयारी गरिरहेका छन् । लामाले निर्माण गरेको चलचित्र ‘टुल्की’ले चलचित्र बिकास बोर्डमा सम्पन्न ‘बिशेष चलचित्र २०७९’ सम्माननीय राष्ट्रपतिबाट सम्मानित, उत्कृष्ट ‘स्पेनी बब्बलेर इन्टरनेशल अवार्ड २०२२’ र ‘बेष्ट प्रोडुक्शर अफ द एचिभमेन्ट अवार्ड २०२४’ हासिल गरिसकेको छ । त्यसै गरि उत्कृष्ट चलचित्र आप्लेङ ला नाम्शा ‘आदीवासी जनजाती चलचित्र महोत्सव’, उत्कृष्ट चलचित्र कथा सम्वाद ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ लगायतका अवार्डबाट पुरस्कृत ‘टुल्की’ बहुपतिप्रथामा आधारित चलचित्र हो । नयाँ प्रोजेक्टको तयारीमा रहेका युवा निर्माता शेखर लामा नेपाली माटो सुहाउने मौलिक विषयवस्तुमा काम गर्न रुचाउछन् । कुशल कलाकार पनि रहेका निर्माता शेखर लामासंग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः

० यो क्षेत्रमा प्रवेश चाँही कसरी भयो ?
सानैबाट मलाई नृत्य मन पर्ने अनि नृत्य सिकेर बिभिन्न कार्यक्रम, भिडियो र चलचित्रहरूमा नाच्दै हिंड्ने क्रममा २०७० बाट चलचित्रमा सहनिर्माता भएर निर्माणको क्षेत्रमा प्रवेश गरेको हुँ र यसैमा निरन्तर लागि रहने सोच बनाएको छु ।

० बहुपति प्रथामा ‘टुल्की’ बनाउनु भयो यस्तो खालको बिषयवस्तुलाई दर्शकले कुन रूपमा हेरेको पाउनु भयो ?
दर्शकको लागि यो कथा नयाँ र नौलो भएकोले उहाँहरूले फरक कथाको रूपमा लिएको पाएको महसुस गरेको छु ।

० पछिल्लो समय नेपाली फिल्मले व्यवसाय गर्न नसक्नुको कारण के होला ?
गुणस्तरको चलचित्रहरू नबन्नु साथै सधैं देखावटिमा विश्वास र भरोसामा चलचित्र बनाउँनाले अहिलेको समयमा चलचित्रले व्यवसाय गर्न कठिन भएको हो ।

० नेपाली फिल्मलाई दर्शक रुचिको बनाउन कस्तो खालको बिषयवस्तु छनौट गर्नुपर्ला ?
कस्तो चलचित्रलाई कसरी प्रस्तुती गर्ने भन्ने हो । यदी प्रस्तुती राम्रो छ भने जस्तो बिषयवस्तुको चलचित्र पनि हाम्रो नेपाली चलचित्र प्रेमीले मन पराउछ भन्ने विश्वाश छ ।

० फिल्म प्रदर्शनको लागि एकआपसमा प्रतिस्पर्धा गर्दा फाईदा कसलाई पुग्छ ?
खुल्ला बजार भएकोले चलचित्र प्रदर्शनीमा एकआपसमा प्रतिस्पर्धा गर्दा केहि फरक पर्छ जस्तो लाग्दैन मलाई चाँही । किनकी दर्शकले राम्रो चलचित्रलाई नै मन पराउछ र मन नपर्ने चलचित्र हो भने त्यस्तो चलचित्रलाई एक्लै हलमा लगाउँदा पनि दर्शकको साथ र सहयोग मिल्दैन ।

० पेशागत संघसंस्थामा आवध्द हुनुहुन्छ कि ?
छु नि, जस्तै कार्य समिति सदस्य नेपाल चलचित्र निर्माता संघ, सदस्य नेपाल चलचित्र कलाकार संघ, सदस्य नेपाल चलचित्र नृत्य संघ, सदस्य नृत्य नेपाल फिल्म
सोसाइटी आदि ।

० आगामी तयारी के गर्दै हुनुहुन्छ ?
नेपालमा धेरै कथा छ, म आफ्नै देशको कथामा रमाउन मन पराउने भएकोले अहिले मैले निर्माण गर्न लागेकोे दुई वटा चलचित्र ‘लुसु’ र ‘दमिनी गाउँ’ पनि बिशुध्द नेपाली कथामा नै आधारित रहनेछ । जुन चलचित्रको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।