Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्रमा अनुबन्धित भइन भाइरल युवती मोनालिसा

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा माला बेच्ने क्रममा आफ्नो सुन्दरताका कारण भाइरल भएकी मोनालिसा भोसले रातारात सामाजिक सञ्जालमा सनसनी बनेकी थिइन । उनलाई मेलामा सैयौं क्यामेराहरूले निरन्तर घेरेपछि आफ्नो व्यापार रोकेर उनी गत साता घर फर्किएकी थिइन् । यसै क्रममा बलिउड चलचित्र निर्देशक सनोज मिश्राले आफ्नो नयाँ चलचित्र ‘डायरी अफ मणिपुर’को लागि मोनालिसालाई अभिनेत्रीको रूपमा अनुबन्धित गरेका छन् ।

चलचित्रमा अनुबन्धित हुनासाथ मोनालिसाको भाग्य बदलिएको उनका गाउँलेहरूले बताएका छन् । अहिले उनलाई बधाई दिने देखि उनको घरमा अन्तरवार्ता लिन आउने सञ्चारकर्मीहरूको भिडभाड बढेको छ ।

मोनालिसाले यो नयाँ चलचित्रको लागि राम्रै पारिश्रमिक पाएकी छिन् । मोनालिसालाई आफ्नो चलचित्रमा अनुबन्धित गरेको भिडियो समेत निर्देशक मिश्रले शुक्रवार सामाजिक सञ्जालमा शेयर गरेका छन् । मिडिया रिपोर्टका अनुसार मोनालिसाले अनुबन्धित भएसँगै चलचित्र डायरी अफ मणिपुरका लागि अभिनयको तालिम पनि लिने भएकी छिन् । उनलाई गाउँमै अँग्रेजी भाषा प्रशिक्षणको तयारी पनि गराईँदै छ । यो चलचित्रका लागि २१ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित भएकी उनले एक लाख रुपैयाँ हस्ताक्षर रकमको रूपमा पाएकी छिन् ।

महाकुम्भमा आफ्नो सुन्दर आँखा र प्यारो मुस्कानका कारण भाइरल भएकी मोनालिसा एक साता यताबाट मध्य प्रदेशको महेश्वर स्थित आफ्नै घरमा छिन् । कुम्भ मेलाको सम्पूर्ण अवधि प्रयागराजमा बस्ने निधो सहित ३ लाख रुपैयाँको लागतमा रुद्राक्ष तथा अन्य माला किनेर उनी बेच्नको लागि आफन्तसँग सो मेला पुगेकी थिइन् । तर केही दिनमै उनी सामाजिक सञ्जालमा भाइरल भइन् । यसरी भाइरल भएपछि १५ दिन भित्रै उनले कुम्भ मेला छोड्नु प¥यो ।

निर्देशक सनोज मिश्राले शुक्रवार मोनालिसाको गाउँ पुगेर उनलाई आफ्नो चलचित्र डायरी अफ मणिपुरको लागि सम्झौता गरेका हुन् । मोनालिसलाई अनुबन्धित गरेपछि सनोज चलचित्रको थप तयारीका लागि शनिबार मुम्बई फर्केका छन् ।

सनोजका अनुसार यस चलचित्रमा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । यो चलचित्रमा अभिनेता राजकुमार रावको जोडी बनेर मोनालिसालाई अभिनय गराउने योजना सनोजले सुनाएका छन् । चलचित्रको छायांकन सुरु हुनु भन्दा अघि उनलाई मुम्बईमा केही समय अभिनयको तालिम पनि दिइने निर्देशक सनोजले बताएका छन् ।

‘अब मोनालिसाको करियरको जिम्मेवारी हाम्रो हातमा आएको छ र अहिले उनी निर्देशक किशोरी नै छिन् । त्यसैले उनको रेखदेख गरेर मोनालिसालाई अभिनय सिकाएर हामी चलचित्र उद्योगमा अघि बढाउन उनका बुबा आमालाई प्रतिबद्धता जाहेर गर्दछौँ,’ निर्देशक सनोजले मोनालिसालाई आफ्नो चलचित्रमा अनुबन्धित गरेपछि सञ्चारकर्मीसँग भने ।

चलचित्रलाई केही महिनापछि छायांकन सुरु गर्ने तयारी पनि भइरहेको निर्देशक सनोजले बताएका छन् । केही समयको लागि मोनालिसासँगै उनका परिवारका एक सदस्य पनि मोनालिसाको रेख देख गर्न मुम्बईमा सँगै रहने बन्दोबस्त आफहरुले गर्ने पनि यी निर्देशकले बताएका छन् ।

चलचित्रमा अनुबन्धित भएपछि मोनालिसाले खुसी व्यक्त गरेकी छिन् । गत साता उनलाई सनोजले फोन मार्फत चलचित्रमा काम गर्ने प्रस्ताव राखेका थिए । मोनालिसाले चलचित्रमा काम गर्ने भनेपछि सनोजले उनलाई घरमा आएर अनुबन्धित गरेका हुन् ।


सम्बन्धित समाचार