Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवनमा पहिचान हुन नसकेका बाढीपीडितका शव व्यवस्थापन गरिने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार जारी गरेको सूचनाअनुसार बाढीपछि जिल्लामा हालसम्म २३३ वटा शव संकलन भएका छन्। तीमध्ये आठ जनाको पहिचान खुलेको छ भने बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।

प्रशासनका अनुसार नदी तट, होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थाबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर–गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्।

शवहरू लामो समयसम्म व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय रहेको प्रशासनले जनाएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै शनिबार बिहान बसेको जिल्ला सुरक्षा समिति चितवनको बैठकले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार शव व्यवस्थापन गर्नुअघि सबै शवबाट डीएनए नमुना संकलन गरिनेछ। प्रत्येक शवलाई संकेत नम्बर प्रदान गरी आवश्यक विवरणसहित अभिलेखसमेत राखिनेछ।

त्यसपछि भरतपुर महानगरपालिका–९ स्थित देवघाटको खुला क्षेत्रमा शनिबारदेखि नै पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।