Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जहाँ पाठ्यपुस्तक पन्छाएर मतपत्र छापिन्छ

काठमाडौँ । शैक्षिक सत्र शुरु भएको सात आठ महिनासम्म पुस्तक नपुग्ने ठाउँमा अहिले राजनीतिक दलका पर्चा र घोषणापत्र छ्यापछ्याप्ती छन् । हामी यसो गर्छौ र उसो गर्छौ भन्ने आश्वानका पोका रहेका घोषणापत्र पुर्याने राजनीतिक दलनै हुन् सत्ताको चालाचाबी पालै पालो लिने तर पाठ्यपुस्तकमा तिनको ध्यान पुग्दैन । स्थानीय तह निर्वाचनको असर विद्यार्थीको पाठ्यपुस्तक बिक्रीवितरणमा परेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन अब १० दिन मात्रै बाँकी छ । तर, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले माग र विद्यार्थी संख्याअनुसार पाठ्यपुस्तक छाप्न सकेको छैन भने छापिएका पुस्तक पनि निर्वाचनको बहानामा वितरण गरिएको छैन । देशभरका विद्यालय नयाँ शैक्षिक सत्रको तरखरमा जुट्दा स्थानीय तहको मतपत्र छपाइ गरेको जनक शिक्षाले यो वर्ष सामुदायिक विद्यालयका विद्यार्थीलाई समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने भएको हो । जेठको पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । मासिक २५ लाखसम्म पाठ्यपुस्तक छाप्न सक्ने क्षमता भएको जनक शिक्षालाई ४० लाख पाठ्यपुस्तक छाप्न कम्तीमा डेढ महिना समय चाहिन्छ । सुगमका जिल्लामा छापिएका पुस्तक ढुवानी गरेर वितरण केन्द्र, विक्रेता, विद्यालय हुँदै विद्यार्थीको हातसम्म पुग्न थप सात दिन समय लाग्छ । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले ४० लाख थान पुस्तक मात्रै छाप्न बाँकी भएको दाबी गरे पनि स्रोतका अनुसार त्योभन्दा बढी संख्यामा पुस्तक छपाइ हुन सकेको छैन । छापिइसकेका पुस्तक पनि वितरण केन्द्र खुलाएर बिक्री गर्न ढिलाइ गरिएको छ । यो वर्ष करिब दुई करोड पाठ्यपुस्तक आवश्यक हुने अनुमान गरिएको छ । शिक्षा मन्त्रालयले वैशाख मसान्तसम्म परीक्षा, नतिजा प्रकाशन, भर्ना, पाठ्यपुस्तक वितरणलगायतका कार्यक्रम सम्पन्न गरेर जेठ पहिलो सातादेखि पठनपाठन थाल्न निर्देशन दिएको छ । तर जनक शिक्षाले बुधबारसम्म वितरण केन्द्रहरू खुला गरेर विक्रेतालाई पुस्तक उपलब्ध गराउन सकेको छैन । अति दुर्गमका जिल्लामा पाठ्यपुस्तक वितरण गर्ने धनगढी, सुर्खेत, विराटनगरलगायत प्रादेशिक कार्यालयका वितरण केन्द्रले पनि विक्रेतालाई पुस्तक उपलब्ध गराएका छैनन् । हुम्ला, डोल्पालगायत जिल्लाका दुर्गम विद्यालयमा वितरण केन्द्रबाट पुस्तक पुर्‍याउन हप्तौं लाग्छ । प्रबन्ध निर्देशक झाले भने कक्षा ९, ६ र ५ को मात्रै पुस्तक छपाइ गर्न बाँकी रहेको जनाएका छन् । उनले भने, ‘छापेका पुस्तक मागअनुसार ९ वटै वितरण केन्द्रमा ढुवानी भइसकेको छ, विक्रेताहरूलाई बिक्रीवितरण गर्न मात्र बाँकी हो ।’ जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको छ । कक्षा १–३ को किताब निजी पब्लिकेसनहरूले छापेर बिक्रीवितरण गर्दै छन् । प्रवक्ता चित्रकुमार आचार्यले गत चैत २० गतेसम्म १ करोड ५५ थान पाठ्यपुस्तक छपाइ गरिसकेको र करिब ४० लाख थान पुस्तक छाप्न बाँकी रहेको जानकारी कान्तिपुरलाई दिएका थिए । एक महिनापछि त्यति नै थान पुस्तक छाप्न बाँकी रहेको तथ्यांक सार्वजनिक गरिएको छ । जनक शिक्षाले छापेका पुस्तक भक्तपुरको सानोठिमी, जनकपुर, विराटनगर, भरतपुर, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत वितरण केन्द्रबाट विक्रेतालाई दिने गरिन्छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल