Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो

काठमाडौं । विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गरेको हो । २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । उच्च अदालतले जिल्लामा पेश भएका प्रमाणहरु पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए ।
इजलासले पीडित र पीडक पक्षबीच भएको ‘भ्वाइस कल’को परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित तथा पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको हो । २०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते पीडितले प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । गिरीले हिरासतमा बस्ने समय भने अस्पतालमा बसेर बिताएका थिए ।
गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । जिल्लाको फैसलापछि भने उनी कारागारबाट आश्रम फर्किएका थिए । २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमति करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो ।
जिल्लाको फैसलाविरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।