Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सूर्यदर्शन सहकारीमा जम्मा गरेको जनताको पैसामा ब्रम्हलुट गरेर बेपत्ता भएका गितेन्द्रबाबु राई पक्राउका लागि प्रहरीले थालेको प्रयास बल्ल सफलतातिर लम्किएको छ । सहकारीको अर्बौँ रकम हिनामिना गरेर मलेसिया पुगेका जीबी भन्ने गितेन्द्रबाबु राईलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मलेसियासँग सहयोग मागेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई अनुरोध गरेको हो। पत्रमा जीबीलाई पक्राउ गरेर नेपाल फिर्ता गरिदिन भनिएको छ। नेपालबाट भागेको पुष्टि भएपछि प्रहरीले जीबी राईलाई खोज्न इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराएको थियो। तर डिफ्युजन नोटिस जारी भएको थाहा पाएपछि भिसा थप गरेर उनी मलेसियामै बसेका छन्। डिफ्युजन नोटिस भनेको सम्बन्धित मुलुकले व्यक्ति विशेषलाई आफूले पक्राउ गर्न चाहेको सूचना इन्टरपोलको माध्यमबाट जारी गरेको सूचना हो। गृह मन्त्रालय स्रोतका अनुसार उनले भिसा थप गरेको खुलेपछि त्यहाँको सरकारलाई नै अनुरोध गर्दै पत्र पठाएको हो। यहाँबाट अनुरोध गरेर पत्र पठाइसकेकाले अब जीबीलाई पक्राउ गरेर नेपाललाई पठाइदिने सम्भावना बढेको उनले बताए। सुरुमा डिफ्युजन नोटिस जारी गरेको प्रहरीले इन्टरपोलमार्फत पछि रेड नोटिसका लागि पनि अनुरोध गरेको थियो। तर उनी लोकेट भइसकेको र पठाउनका लागि उच्च तहबाटै पहल आवश्यक भएपछि प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले एक साताअघि नै पत्र पठाएको थियो। प्रहरी प्रधान कार्यालयले पनि तीन दिनअघि गृह मन्त्रालयमा पत्र पठाएको थियो। गृहले सोही पत्र परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ। परराष्ट्र मन्त्रालयले दूतावास हुँदै मलेसिया सरकारलाई पठाउने छ। त्यसपछि जीबीलाई मलेसिया सरकारले नेपाल फर्काइदिने र कारबाही अगाडि बढ्ने अपेक्षा प्रहरीले गरेको छ। उनीविरुद्ध विभिन्न सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। यस्तै अन्य जिल्लामा पनि उनीसँग जोडिएका प्रमाण संकलन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बरामद गरेका उनीसँग सम्बन्धित अन्य सहकारीका प्रमाण सम्बन्धित जिल्लामा पठाएको छ। कास्कीमा जीबी राईले ठगी गरेको सूर्यदर्शन सहकारीको सर्भर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको सहयोगमा अनुसन्धान भइरहेको छ। प्राविधिक टोलीबाट उक्त सर्भरबारे प्रतिवेदन प्राप्त हुन बाँकी रहेको मुद्दाको अनुसन्धान गरिरहेका एक अधिकारीले बताए।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल