Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोखिम भत्ताको माग गर्ने कर्मचारीलाई बीरले बल्ल बोलायो

काठमाडौं । कोरोना कहरका कारण सिंगो विश्व आतंकित भएको बेला मुुलुकको जेठो अस्पताल वीर अस्पतालमा आन्दोलनरत कर्मचारीहरुलाई वार्तामा बोलाएको छ। उनीहरुले उठाएका मागहरु सम्बोधनका लागि पहल भइरहेको भन्दै अस्पतालले आन्दोलित कर्मचारीलाई वार्तामा बोलाएको हो। अस्पतालले एक विज्ञप्ति जारी गरी विरोधका सबै कार्यक्रम स्थगित गर्न पनि उनीहरुलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, आन्दोलित पक्षद्वारा पेस गरिएका मागहरुप्रति अस्पताल प्रशासन अत्यन्त संवेदनशील रहेको र ती मागहरु सम्बोधनका लागि हरसम्भव प्रयास भइरहेको छ।

कर्मचारीहरुको तलब भत्ता, सेवा विस्तार भत्ता, चाडपर्व भत्ता, औषधि खरिद खर्च लगायत कोभिडको महामारीका कारण उपलब्ध गराउन नसकिएको अस्पतालले स्वीकार गरेको छ। अस्पतालको आर्थिक स्रोतमा कमी आएकाले यी भत्ताहरु साउनदेखि प्रदान गर्न कठिनाइ भइरहेको विज्ञप्तिमा उल्लेख छ।

भविष्यमा स्रोतसाधनको सुनिश्चितता भए मात्र अतिरिक्त भत्ता लगायतका सुविधा उपलब्ध गराउन सकिने अस्पतालले जनाएको छ। कर्मचारीहरुको तलबभत्ताका अतिरिरिक्त सबै सेवा विस्तार भत्ता आन्तरिक स्रोतबाट व्यवस्थापन हुँदै आएकोमा हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियमित तलबसुविधा उपलब्ध गराउने सम्बन्धमा छलफल भइरहेको अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीले बताए। अस्पतालको नियमित सेवा सञ्चालनमा नआउँदासम्म सबै भत्ताहरुको व्यवस्थापन गर्न अस्पताल प्रशासन असमर्थ रहेको विज्ञप्तिमा उल्लेख छ। कोभिड जोखिम भत्ता वितरणमा केही समय लागे पनि प्राप्त जोखिम भत्ताको रकम सकेसम्म छिटो उपलब्ध गराउने अस्पतालले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, अस्पतालको नियमित सेवा सञ्चालनमा नआउँदासम्म अन्य सम्पूर्ण भत्ताहरुको व्यवस्थापन गर्न अस्पताल प्रशासन असमर्थ रहेको तथा कोभिड जोखिम भत्ता समेत माग अनुसार निकासा नभएको अवस्थामा नेपाल सरकारबाट प्राप्त जोखिम भत्ताको वितरणमा केही समय लागेको भए तापनि प्राप्त जोखिम भत्ताको रकम यथासम्भव छिटो उपलब्ध गराउने प्रयास भइरहेको छ।

आन्दोलित कर्मचारीको माग अनुसार आर्थिक स्रोतको उपलब्धताको आधारमा यथासम्भव पर्याप्त र गुणस्तरीय स्वास्थ्य सुरक्षाका सामग्रीहरु व्यवस्थापन गर्ने काम भइरहेको अस्पतालले जनाएको छ। जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता लगायत पाउनुपर्ने माग सहित वीर अस्पतालका कर्मचारीहरु कात्तिक ३ गतेदेखि आन्दोलनमा छन्।


सम्बन्धित समाचार