Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्यान असुरक्षित भएपछि हेटौंडा अस्पतालका ७८ डाक्टरले दिए राजीनामा

मकवानपुर । चिकित्सकको काम विरामीलाई बचाउन प्रयास गर्ने हो । तर सबै प्रयास सफल हुन्छ भन्ने छैन । विरामी बचाउने प्रयास असफल हुने बित्तिकै चिकित्सक निशानामा पर्ने गरेका छन् । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका छन् । चिकित्सकका अनुसार शुक्रबारदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने तयारी छ । बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा। प्रशान्त बिडारी र डा. विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । थापा उपचारका लागि काठमाडौं गएका छन् । डेंगीका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो । प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो । कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका छन् । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षा प्रत्याभूति नभएका कारण पीडितबाट मात्रै उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रूपमा दर्ता गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । बुधबार मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालको कार्यकक्षमै आक्रमणकारी र पीडित डाक्टरबीच मुद्दा दर्ता नगराउन वार्तासमेत भएको थियो । बुधबार नै जाहेरी दिन खोजिए पनि अबेरसम्म वार्ताका नाममा पीडित चिकित्सकलाई नै हतोत्साहित गर्ने काम भएको उनीहरूको आरोप छ । ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी ल्याएका कारण बुधबार दर्ता नभएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए । बिहीबार हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईं र एसपी रिजालको उपस्थितिमा चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधि व्यवसायी तथा स्वास्थ्यकर्मीले छलफलका क्रममा सुरक्षाको मागसहित सामूहिक रूपमा मुद्दा दर्ता गर्ने भन्दै आन्दोलन घोषणा गरेका थिए । उनीहरूले २४ घण्टाभित्र घटनामा संलग्न सबैलाई पक्राउ गरी हदैसम्मको कारबाही प्रक्रिया नबढाए सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरका उपाध्यक्ष सुधीर दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष भोला चौंलागाईं र निजी अस्पतालका प्रतिनिधिले यो घटनामा प्रहरी मूकदर्शक बनेको बताए । प्रजिअ सेढाईंले सुरक्षाका सवालमा कुनै सम्झौता नहुने आश्वासन दिएका छन् ।