Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देखेको कुरा नघुमाई बोल्ने नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीमाथि हुने भनिएको कारवाही कहाँ पुग्यो ? सर्वत्र जिज्ञासा छ । तर, एक सातादेखि जारी पार्टी सचिवालय बैठकले अहिलेसम्म उनीबारे केही निर्णय गरेको छैन । असार १४ गते लुम्बिनीमा आयोजित युवा संघको भेलामा उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेका कारण उनले पार्टी नेतृत्वबाट बाहिरिनुपर्ने र शीघ्र (अर्ली) महाधिवेशनबाट अर्को नेतृत्व चयन हुनुपर्ने अभिव्यक्ति दिएकी थिइन् । यो कुराले गत साता बजार राम्रैसँग गर्मायो । पार्टीमा बर्खास्ती र चेतावनीमध्ये कुन तहको कारवाही गर्ने विषय उठ्यो । तर, अहिलेसम्म केही निर्णय भएको छैन । बैठकको पहिलो दिन झाँक्री आफैँ पार्टी कार्यालय पुगेर आफूमाथि कारवाही हुनेलगायतका विषय मिडियाबाट सुनेको भन्दै एउटा पत्र बुझाइन् । उनले आफूलाई कोही, कसैले हालसम्म कुनै स्पष्टीकरण नसोधेको भनिन् । तर, उपाध्यक्ष जगन्नाथ खतिवडाले उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधिसकेको भने । झाँक्रीले कुरा गर्दा आजसम्म आफूलाई कुनै पनि चिठी, पत्र नआएको भनिन् ।
पार्टी उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले फेरि उपाध्यक्ष खतिवडाकै कुरा दोहोर्याउँदै भने, स्पष्टीकरण पहिल्यै सोधिएको छ, अब भोलिको बैठकबाट निर्णय हुन्छ । २४ पदाधिकारी रहेको उक्त पार्टीको सचिवालय बैठकमा आइतबार सबै नेताले आ–आफ्ना कुरा राख्ने क्रम सकियो । मंगलबार बस्ने गरी बैठक स्थगित भयो । बैठकमा सहभागी एक नेताले बताएअनुसार, पदाधिकारीमध्ये उनलाई पार्टीबाट निश्कासन गर्नुपर्छ भन्ने पक्षको बहुमत छ । तर, केही नेताले पार्टीमाथिको चौतर्फी घेराबन्दी र विपक्षीको बढ्दो प्रहारलाई ख्याल गरेर सकेसम्म उनीजत्तिकी नेतृ पार्टीबाहिर हुने स्थिति नरहोस् भन्ने कोणबाट कुरा उठाए । त्यसपछि स्वयं झाँक्रीसँग कुरा गर्न एक दिनका लागि समय लिइएको हो । तर, सोमबार दिनभर झाँक्री पार्टी कार्यालयमा देखिइनन् । उनीसँग पार्टी नेतृत्वले एकचोटि कुरा गर्ने, यदि उनले बोलेको कुरामा माफ मागेमा चेतावनीबाहेकका कारवाही नगर्ने सहमतिमा मंगलबार बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो । आइतबारको बैठकमा भएको सहमतिबमोजिम झाँक्रीसँग छलफल गर्न महासचिव घनश्याम भुसालले सोमबार दिउँसो पटक पटक उनलाई फोन सम्पर्कको प्रयास गरे । झाँक्रीले भनिन्, म दिनभरि एउटा काममा व्यस्त थिएँ, घनश्याम दाइको धेरैचोटि फोन आएको रहेछ, अब बेलुकी भेट्ने कुरा भएको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल