Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । झापाको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचाररत इलामका नरबहादुर बस्नेतको शंकास्पद अवस्थामा मृत्यु भएको छ। घटनासँग सम्बन्धित भनिएको सीसीटीभी भिडियो सार्वजनिक भएपछि सुधार केन्द्रमा बस्नेतमाथि कुटपिट भएको आशंका थप चुलिएको छ।
इलामको फाकफोकथुमका बस्नेतलाई मादक पदार्थ सेवनको लत छुटाउन परिवारले तीन महिनासम्म सुधार केन्द्रमा राख्ने गरी असोज २५ गते भर्ना गराएको थियो। तर, भर्ना भएको दुई दिनपछि असोज २७ गते नै उनको मृत्यु भएको परिवारले जनाएको छ।
परिवारका अनुसार सुधार केन्द्रका सञ्चालकले बस्नेत बिरामी परेको जानकारी गराएका थिए। परिवारका सदस्य अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो।
घटनापछि सार्वजनिक भएको भनिएको सीसीटीभी भिडियोमा नरबहादुरलाई कोठाभित्र अस्पतालको शय्याजस्तो संरचनामा हातखुट्टा बाँधेर राखिएको देखिन्छ। उनी पीडाले छटपटाइरहेका बेला कोठामा रहेका तीन–चार जनाले उनको शरीरका विभिन्न भागमा थिचेको दृश्यसमेत भिडियोमा देखिएको छ।
भिडियोमा एक व्यक्तिले शय्यामा सुतेका नरबहादुरको दाहिने हातमा डोरी बाँधेको, अर्का व्यक्तिले गालामा थप्पड हानेको र अर्को व्यक्तिले लट्ठी बोकेको देखिएको बताइएको छ। यद्यपि, भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान र घटनाको पूर्ण विवरण अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
मृतकका भाइ ३१ वर्षीय तारा बस्नेतले प्रहरीमा दिएको जाहेरीअनुसार सुधार केन्द्रका सञ्चालकले नरबहादुरलाई उपचारका लागि सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्ता सिटी अस्पताल पुर्याएका थिए। बिर्ता सिटी अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको जाहेरीमा उल्लेख छ।
तारा बस्नेतले शवगृहमा दाजुको शव हेर्दा शरीरका विभिन्न भागमा चोटपटक देखिएको बताएका छन्। उनले सुधार केन्द्रका सञ्चालकको लापरवाहीका कारण दाजुको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
परिवारले सार्वजनिक भएको भनिएको सीसीटीभी भिडियोसहित प्रहरीमा जाहेरी दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। बस्नेतको मृत्युको कारण, शरीरमा देखिएका भनिएका चोटपटकको प्रकृति तथा घटनामा सुधार केन्द्रका सञ्चालक र अन्य व्यक्तिको सम्भावित संलग्नताबारे अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
घटनाको निष्पक्ष छानबिन गरी मृत्युको वास्तविक कारण पत्ता लगाउन र दोषी देखिने व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्ने माग परिवारले गरेको छ।
२०८३ कार्तिक ३
ताजा नेपाल
२०८३ कार्तिक ३
ताजा नेपाल
२०८३ कार्तिक ३
ताजा नेपाल