Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झ्याप्प बत्ती गयो ? लोडसेडिङ होइन, इन्भर्टर नकिनी सुखै छैन

काठमाडौं । बेला न कुबेला झ्याप्प झ्याप्प बत्ती जानु आजभोलि नौलो होइन । तर प्राधिकरणले विज्ञप्ति निकालेर भन्छ, यो लोडसेडिङ होइन, प्राविधिक कारणले बत्ति गएको हो । सबैलाई थाहा छ, बजारमा झण्डै ६ अर्ब रुपैयाँका इन्भर्टर र जेनेरेटर स्टक बसेका छन् । प्राधिकरणमा कुलमान छउञ्जेल त्यतायितर आँखा लगाउन पनि नसकेका व्यापारीहरु अहिले लैथो बोकेर वातावरण मिलाउन प्राधिकरण धाउन थालेका छन् । त्यही वातावरण तयार गर्न प्राधिकरणले दिनको दुई चार पटक झ्याप्प झ्याप्प झ्याप्प बत्ती काट्न थालेको हो ।

आफ्ना लाखौंका उपकरण जोखिममा पर्ने भएपछि आम जनताले ऋण धन गरेर पनि इन्भर्टर नकिनी सुखै छैन । प्राधिकरण औपचारिक तालिका निकाल्न सक्ने अवस्थामा छैन । किनकि कुलमानले जाने बेलामा भनेका थिए, अब कसैको इच्छामा लोडसेडिङ हुँदैन । त्यसैले अहिले गइरहेको बत्ति वातावरण मिलाउने मेसो हो, तपाईं हामीले इन्भर्टर र जेनेरेटर नकिनी सुखै छैन । किनकि प्राधिकरणमा अहिले ‘लोडसेडिङ अन्त्य गर्ने’ प्रधानमन्त्री ओलीका साला कामु कार्यकारी निर्देशक छन् ।

आफ्नै सालोलाई विद्युत प्राधिकरणको कार्यकारी बनाएर लोडसेडिङ लागू गरी इन्भर्टर र जेनेरेटरको व्यापार चर्काउन समृद्धि र विकासको ऐलान गर्ने प्रधानमन्त्रीको दरबारमा विद्युत कटौती भएको छैन । जनताको घर व्यवसायमा प्रभाव पार्ने गरी केही दिन यता विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ लागू गरेको छ । ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी आएकै दिनबाट झनै विद्युत कटौती हुनेक्रम बढेको छ । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको टिममा रहेका काम गरेका भार प्रेषण केन्द्रका विष्णुकुमार श्रेष्ठ, प्रबल अधिकारी, हरराज न्यौपानको सक्रियताले काम गरेको थियो ।

अधिकारी व्यापार विभागमा थिए भने न्यौपाने ग्राहक तथा वितरण सेवा निर्देशनालयमा रहेका थिए । अहिले उनीहरूलाई लाखा पाखा गराइएको छ । कुलमानको कार्यकालभर अफगानिस्तानमा जागिर खान गएका हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी बनाइएको छ । कुनै पनि हाकिम सफल हुन आफू अगाडिका हाकिमले चलाएको अभियानलाई निकटबाट साथ दिएको हुनुपर्दछ । तर हितेन्द्र कुलमानको कार्यकालभर प्राधिकरणमा थिएनन् । उनी पहिले नै प्राधिकरणकै इञ्जिनियरिङ कम्पनीमा सरुवा भएर गएका थिए । प्रशारण तथा चुहावट नियन्त्रणमा असफल बनेका शाक्य यतिखेर लोडसेडिङले प्राधिकरणले गरेको होइन भनिरहेका छन् तर पत्याउने कसले ?

प्राधिकरण भन्छ, प्राविधिक समस्याकै कारणले बेला बेला बत्ती गएको हो । मर्मतका काममा ध्यान नदिने कमिशनको लागि ऐन कानुन, नीति नियम ध्वस्त बनाउनेहरूलाई कुशल र इमान्दार भएर कुलमान घिसिङले सक्रियता पनि देखाए । तर घिसिङको कार्यकाल बढेन । किनकि प्रम ओलीलाई देश उज्यालो भएको मन परेन । संघीयताको व्यवस्थापन उनले गरेनन् । गणतन्त्र ओली गुटको कमाईको माध्यम बनाइएकै छ । इन्भर्टर र जेनेरेटर व्यापारी यही बेला सलबलाएका छन् जुनबेला प्राधिकरणले सूचना नदिइ दिनको चार पाँच पटक विजुली काटेको छ ।

भारतबाट ३५० मेगावाट विद्युत ल्याएको प्राधिकरणले ५ सय ६४ मेगावाटको तामाकोशी समयमा सम्पन्न गरेको छैन । यहाँ पनि जस कसले लिने भन्ने हाड छ । मेलम्चीको नाउमा भएको भ्रष्टाचार र तामाकोशीको निर्माण कार्य ढिलाई मुलुकको हितमा छैन । सरकारलाई त्यसतर्फ चासो पनि छैन, चिन्ता कुने कुरै भएन ।