Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दोस्रो कार्यकाल सुरु गरेयता ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार कानुन उल्लंघन, ठगी तथा राष्ट्रिय सुरक्षासम्बन्धी जोखिमलाई आधार बनाउँदै भिसा रद्द गर्ने क्रम तीव्र पारिएको हो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत ३ लाखभन्दा बढी भिसा रद्द गरिएको जानकारी दिएका हुन्। उनका अनुसार ट्रम्प प्रशासनले यसअघिका प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरिरहेको छ।
सन् २०२५ जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता अगस्ट १० सम्म रद्द गरिएका भिसाको संख्या १ लाख ७५ हजारभन्दा बढी पुगेको थियो। त्यसयता केही सातामै थप भिसा रद्द गरिएको रोयटर्सले जनाएको छ।
ट्रम्प प्रशासनले अमेरिका प्रवेश गरेका विदेशी नागरिकले कानुन उल्लंघन गर्ने, ठगी गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधि गरेमा कडा कारबाही गरिने बताउँदै आएको छ। प्रशासनले आप्रवासन नियन्त्रण र देशनिकाला अभियानलाई आन्तरिक सुरक्षा सुदृढ गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।
तर मानवअधिकारकर्मीहरूले भिसा रद्द गर्ने क्रममा उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। विशेषगरी जातीय अल्पसंख्यक समुदायमाथि विभेदपूर्ण निगरानी र कारबाही भइरहेको उनीहरूको आरोप छ।
गाजामा इजरायलको आक्रमणविरुद्ध प्रदर्शन गर्ने प्यालेस्टाइन समर्थक विदेशी नागरिकको भिसा रद्द गरिएका घटनाको पनि मानवअधिकारवादीहरूले आलोचना गरेका छन्। त्यस्तै, अमेरिकी दक्षिणपन्थी टिप्पणीकार चार्ली कर्कको हत्याबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका विदेशी नागरिकको भिसा रद्द गरिएपछि पनि विवाद उत्पन्न भएको थियो।
ट्रम्प प्रशासनले आप्रवासी र भिसा आवेदकको सामाजिक सञ्जालसम्बन्धी जाँचलाई समेत कडा बनाएको छ। केही कार्य भिसामा उच्च शुल्क लगाइएपछि कानुनी रूपमा अमेरिका जान चाहने विदेशी नागरिकसमेत प्रभावित भएको भन्दै आलोचना भइरहेको छ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पले अवैध आप्रवासन रोक्ने प्रतिबद्धता जनाएका थिए। तर उनको प्रशासनका पछिल्ला नीतिले कानुनी प्रक्रियाबाट अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकलाई समेत असर पारिरहेको भन्दै आलोचकहरूले प्रश्न उठाएका छन्।
२०८३ कार्तिक ५
ताजा नेपाल
२०८३ कार्तिक ५
ताजा नेपाल
२०८३ कार्तिक ५
ताजा नेपाल