Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डाक्टर भकुर्ने ट्राफिक प्रहरी परे फन्दामा

काठमाडौं । ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए। आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उनका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका थिए। निवेदनमा आक्रमण गर्ने ट्राफिक प्रहरी राजेन्द्र थापालाई आवश्यक कारबाही गर्न र घाइतेलाई सुरक्षासहित उपचार खर्च दिलाउन माग गरिएको छ। निवेदन कुटाइ खाने डाक्टर घिसिङका दाईले हालेका हुन्। निवेदनमा पुल्चोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत डाक्टर घिसिङ ड्यूटी सकेर पैदल घर फर्कने क्रममा एकान्तकुना यातायात कार्यालयको बाटोमा कुटपिट गरिएको उल्लेख छ। घर फर्किँदै गर्दा चेकिङमा रहेको ट्राफिक प्रहरी जवान थापाले ‘किन ठोकीएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका हुन्। प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि निलम्बन गरेर थप अनुसन्धान अघि बढाइएको एसपी शर्माले जानकारी दिए।