Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तत्कालका लागि प्रचण्डको गर्जो टर्यो

काठमाडौं । सत्ताबाट उछिट्टिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उपमहासचिव जनार्दन शर्माले पनि खेदेपछि उनको अवस्था निकै रक्षात्मक बन्न पुगेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न शर्माले गरेको प्रस्तावले नेकपा माओवादी केन्द्रभित्र ल्याएको खैलाबैला तत्काललाई साम्य भएको छ। शर्माको लिखित प्रस्तावलाई केन्द्रीय समितिमा पेस गर्ने, उनले पार्टी फुटाउन प्रयास गरेको भन्दै लगाइएको आरोपको सार्वजनिक रूपमा खण्डन गर्ने सहमति भएपछि पार्टीभित्रको अन्तर्संघर्ष तत्कालका लागि मत्थर भएको हो। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले पार्टीमा देखिएका समस्याबारे छलफल गर्न असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको छ। पार्टीमा देखिएका समस्या पहिल्याउन भदौ २ गतेदेखि प्रदेशहरूमा बैठक राखिएको छ। नेता कार्यकर्ताका गुनासा सुन्न अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरू सबै प्रदेशमा खटिनेछन्। शर्माले साउन २६ गते स्थायी समिति बैठकमा माओवादी पार्टी निर्माणबारे भन्दै १२ पृष्ठ र अध्यक्ष प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै थप २ गरी १४ पृष्ठको प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावमा २०४३ सालदेखि लगातार अध्यक्ष रहेका प्रचण्डलाई नेतृत्व छोड्न शर्माले आग्रह गरेका थिए भने तत्काल विशेष महाधिवेशन बोलाउन र सबै कमिटीमा तेस्रो पुस्तालाई सांगठनिक नेतृत्व दिन माग गरेका थिए। सो प्रस्तावले माओवादी पार्टीमा खैलाबैला मच्चाएको थियो भने २०६९ पछि पहिलोपटक पार्टीभित्र आन्तरिक विवाद रहेको पुष्टि गरेको थियो। शर्माले लिखित प्रस्तावमा अध्यक्ष प्रचण्डको नामै राखेर सत्ता गठबन्धन फेरबदल गरिरहेको, प्रदेश सरकारलाई कमजोर बनाएको आरोप लगाएका थिए। उनको प्रस्तावले अध्यक्ष प्रचण्ड स्तब्ध भएको उनीनिकट नेताहरूले नेपालखबरलाई बताएका थिए। प्रचण्डप्रति शर्माले कटाक्ष गरेपछि माओवादी पार्टीमा दुई लाइन संघर्ष चर्किने नेताहरूको आशंका थियो। यद्यपि, धेरै नेताले शर्मालाई बिच्किन नदिई पार्टीलाई एकताबद्ध बनाउने भूमिका खेल्न प्रचण्डलाई सुझाएका थिए। बिहीबार सुरुमा पदाधिकारी र पछि स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले शर्माको प्रस्तावलाई केन्द्रीय समितिमा लैजान आफू तयार रहेको बताए। जसले विश्वासको वातावरण बनेको र सहमतिको वातावरण बनेको नेताहरू बताउँछन्। शर्माले आफूनिकट नेताहरूलाई अध्यक्ष प्रचण्ड लचक भएको सन्देश पठाएका छन्। शर्माले आफूलाई अध्यक्षले पार्टी फुटाउँदैछ भन्ने आरोप लगाएको विषय लिखित प्रस्तावमा उल्लेख गरेका छन्। त्यसबारे अध्यक्षले खण्डन गर्नुपर्ने उनको माग थियो। स्थायी समितिको बैठक सकिएलगत्तै प्रचण्डले शर्माको माग सम्बोधन गरिहाले। उपमहासचिव हरिबोल गजुरेलका अनुसार स्थायी समिति बैठकमा पेस भएका सबै लिखित प्रस्ताव केन्द्रीय समितिमा पेस हुनेछ।
चार दशकभन्दा लामो समयदेखि अविच्छिन्न अध्यक्ष रहेका प्रचण्डलाई नेतृत्व छोड्न आग्रह गर्दै अहिलेसम्म माओवादीका कुनै नेताले पनि लिखित प्रस्ताव पेस गर्न सकेका थिएनन्। मोहन वैद्य, डा बाबुराम भट्टराईले फरक मत राखे पनि नेतृत्व फेर्ने कुरा उठाएका थिएनन्। तर, शर्माले तेस्रो तहलाई सांगठनिक नेतृत्व दिन आग्रह गरेका छन्। त्यसका लागि तत्काल विशेष महाधिवेशन माग गर्नेदेखि केन्द्रीय समिति भंग गर्न माग समेत गरेका छन्। यसले माओवादीमा नयाँ अन्तर्संघर्ष र यो चर्किनसक्ने आकलन थियो। तर, प्रचण्डले जनार्दनलाई बिच्किन नदिने नीति अख्तियार गरेको र रक्षात्मक देखिएको नेताहरू सुनाउँछन्। नयाँ समझदारी बनेसँगै माओवादी पार्टीको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ। यद्यपि अब केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रस्तुति हेरेर नयाँ रणनीति बनाउने योजनामा शर्मा छन्।


सम्बन्धित समाचार