Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेटअनुसार कर्मचारीहरूको पारिश्रमिक साउन १ गतेदेखि करिब २१ प्रतिशतले बढ्ने भएको छ।
पछिल्ला चार वर्षमा महँगी १७.३ प्रतिशतले बढेको उल्लेख गर्दै सरकारले तलब र प्रोत्साहन भत्तामार्फत कर्मचारीको आम्दानी वृद्धि गर्ने नीति लिएको हो। नयाँ व्यवस्थापछि न्यूनतम पारिश्रमिक करिब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने सरकारको दाबी छ।
नयाँ तलब संरचनाअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजी) को मासिक तलब तथा भत्ता ९२ हजार ५०५ रुपैयाँ पुग्नेछ। यसअघि उनीहरूको तलब स्केल ७२ हजार २ रुपैयाँ रहेकोमा दुई ग्रेडसहित ७६ हजार ८८ रुपैयाँसम्म बुझ्दै आएका थिए।
साउनदेखि लागू हुने नयाँ व्यवस्थामा आईजीपी तथा एआईजीको तलब स्केल ७९ हजार २९० रुपैयाँ पुग्नेछ भने १० प्रतिशत प्रोत्साहन भत्ताबापत ७ हजार ९२९ रुपैयाँ थपिनेछ। ग्रेड रकम पनि बढेर प्रति ग्रेड २ हजार ६४३ रुपैयाँ पुगेकाले दुई ग्रेडको रकम ५ हजार २८६ रुपैयाँ हुनेछ। यसरी कुल मासिक आम्दानी ९२ हजार ५०५ रुपैयाँ पुग्नेछ।
यद्यपि तलब वृद्धि भए पनि प्रहरी जवानको पारिश्रमिक भने ४० हजार रुपैयाँ नाघ्न नसक्ने देखिएको छ। हाल प्रहरी जवानको तलब स्केल २६ हजार ८२ रुपैयाँ रहेको छ। आठ ग्रेडसम्म प्राप्त गर्ने जवानले हाल मासिक ३३ हजार ३४ रुपैयाँसम्म बुझ्दै आएका छन्।
नयाँ तलब संरचनाअनुसार जवानको आधारभूत तलब २८ हजार ६९० रुपैयाँ पुग्नेछ। त्यसमाथि २ हजार ८६९ रुपैयाँ प्रोत्साहन भत्ता थपिनेछ। ग्रेड रकम पनि बढेर प्रति ग्रेड ९५६ रुपैयाँ पुगेपछि आठ ग्रेडको कुल रकम ७ हजार ६४८ रुपैयाँ हुनेछ। यसरी अधिकतम ग्रेड पाउने प्रहरी जवानले साउन १ गतेदेखि ३९ हजार २०७ रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन्।
प्रहरी कर्मचारीहरूले तलबबाहेक कार्यक्षेत्रअनुसार रासन भत्ता समेत पाउँदै आएका छन्। तर नयाँ तलब र प्रोत्साहन भत्ता लागू भए पनि प्रहरी जवानको मासिक पारिश्रमिक ४० हजार रुपैयाँको सीमा पार गर्न नसक्ने अवस्था रहनेछ।
२०८३ जेष्ठ १६
ताजा नेपाल
२०८३ जेष्ठ १६
ताजा नेपाल
२०८३ जेष्ठ १५
ताजा नेपाल