Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीनकुने हत्याकाण्ड एक्लै गरेको अभियुक्तको स्वीकारोक्ति

काठमाडौं । रिसलाई नियन्त्रणमा राख्न नसक्ने हो भने ठूलो दुर्घटना निम्तिन सक्छ । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ । जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर आइतबार साँझ अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो । त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन् । भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए । बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए । केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भणडरीले स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । त्यसक्रममा आफूलाई देखेको भनेर अरुलाई आक्रमण गरे । उनले सुरुमा सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेका थिए । घटनापछि उनी फेरि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेका थिए । भोलिपल्ट शनिबार अरु दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीहरुलाई भेट्न गए । आइतबार भने प्रहरीले खोजिरहेको हुनसक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए । हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिएको र उनको साथबाट घटनामा प्रयोग भएको हतियार समेत बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । जन्मजात बोल्न नसक्ने उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई झिकाएको थियो । उनले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको, तर अनुसन्धान भइरहेको राठौरले बताए ।


सम्बन्धित समाचार