Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । छिमेकी मुलुक भारतलगायत दक्षिण एसियाली देशहरूमा पुनः कोरोना भाइरसकोभिड–१९ फैलन सुरु भएको छ । थाइल्यान्ड, सिंगापुर, हङकङमा पछिल्लो समय कोरोना भाइरसका केसहरू देखापर्न थालेको छ।
यी मुलुकमा संक्रमितहरूको संख्या बढिरहेका समाचार एजेन्सीहरूले जनाएका छन् । संक्रमण बढेसँगै अस्पतालहरूमा भर्ना हुनेहरूको संख्या पनि बढिरहेको छ । भारतमा पछिल्लो एक सातामा कोरोनाका नयाँ केसहरू देखिन थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ५७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये दुई जना संक्रमितको मृत्यु भएको जनाइएको छ । ती दुवैजना दीर्घकालीन रोगका बिरामी थिए । उनीहरू कोभिड लागेपछि अस्पतालमा भर्ना भएकामा उपचारका क्रममा मृत्यु भएको हो । कोभिड लागेकामध्ये एक जनालाई मुखको क्यान्सर र अर्कोलाई मिर्गौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो ।
विज्ञहरूका अनुसार भारतमा खोपको प्रभाव अब कम हुन थालेको छ । बुस्टर डोजको आवश्यकता फेरि एकपटक बढेको छ तर मानिसहरू यस’दयगत लापर्बाही गरिरहेका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढिरहँदा नेपालमा भने सतर्कता नअपनाएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा पनि कोरोना संक्रमण फैलन सक्ने कुनै सचेतना अपनाइएको छैन ।
सिंगापुरमा कोभिड–१९ का संक्रमितको संख्या २८ प्रतिशतले बढेको छ । कोरोना संक्रमण बढेसँगै सिंगापुर सरकारले सरकारले उच्च सतर्कता जारी गरेको छ । कोभिड–१९ का १४ हजार २ सय केस पुगेका छन् । संक्रमितमध्ये अस्पताल भर्ना हुनेको संख्या ३० प्रतिशतले बढेको छ । ५ देखि १९ मेसम्म सिंगापुरमा २५ हजार ९ सय नयाँ संक्रमित भेटिएका छन् ।
सोही अवधिमा अस्पतालहरूमा भर्ना हुने बिरामीको औसत दैनिक संख्या १ सय ८१ बाट बढेर २ सय ५० पुगेको छ । सिंगापुरमा कोरोनाको नयाँ लहर बढेसँगै अबका दुई सातामा संक्रमितको दर झनै बढ्नसक्ने विज्ञहरूले चेतनावनी दिएका छन् । कोरोना संक्रमित बढेसँगै सिंगापुरका स्वास्थ्यमन्त्री ओङ ये कुङले सबै नागरिकलाई खोपको नयाँ चरण सुरु गर्न र बुस्टर डोज लिन अपील गरेका छन् ।
हङकङमा कोभिड–१९ संक्रमणको नयाँ लहर सुरु भएको छ । कोरोना संक्रमण बढेसँगै वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित बनेका छन् । हङकङको स्वास्थ्य विभागका अनुसार मार्चमा संक्रमित दर १ दशमलव ७ प्रतिशत थियो भने अहिले यो बढेर ११ दशमलव ४ प्रतिशत पुगेको छ । हालसम्म ८१ नयाँ संक्रमित फेला परेको उल्लेख छ । जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा रहेका छन् ।
थाइल्यान्डमा कोभिड–१९ का धेरै नयाँ संक्रमित देखिएका छन् । बैंकक पोस्टमा प्रकाशित समाचारअनुसार गत साता ३३ हजार ३० नयाँ संक्रमित भेटिएको उल्लेख छ । यीमध्ये बैंककमा मात्र ६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । यीमध्ये १ हजार ९ सय १८ संक्रमित अस्पतालमा भर्ना भएका छन् ।
बैंककपछि चोनबुरीमा २ हजार ५ सय ७३ संक्रमित भेटिएका छन् । त्यस्तै, रायोङमा १ हजार ६ सय ८० संक्रमित भेटिएका छन् । त्यस्तै, नोन्थाबुरीमा १ हजार ४ सय ८२ जना र समुत प्राकानमा १ हजार ४ सय ४२ जना संक्रमित फेला परेका छन् । पहिले तुलनात्मक रूपमा सुरक्षित मानिने ३० देखि ३९ वर्ष उमेर समूहका युवाहरू अहिले सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।
चुलालोङकोर्न विश्वविद्यालयको चिकित्सा संकायकी थिरा वोरातनारतले सोमबार आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै यस रिपोर्टले जनस्वास्थ्य मन्त्रालयको अवस्था चिन्ताजनक नभएको भनाइको विरोध गरेका छन् । उनले भनेका छन्, ‘कोभिड–१९ का नयाँ संक्रमित लगातार ११ सातादेखि तीव्र गतिमा बढ्नु चिन्ताको विषय हो ।’ थाइल्यान्डमा ओमिक्रोनको एक प्रकार एक्सईसी भेरियन्टका कारण हुने घटनामा वृद्धि भएको छ । यो सोङक्रान बिदाको अवधि १३ देखि १५ अप्रिलको कारणले हुनसक्ने विज्ञहरूले भनेका छन् । जुन अवधिमा केसहरूको संख्या निरन्तर बढ्यो ।
सिंगापुरका स्वास्थ्य अधिकारीहरूका अनुसार यसपटक केसहरूमा वृद्धि दुई नयाँ भेरियन्टहरू एलएफ७ र एनबी१.८ का कारणले भएको हो । यी दुवै सन् २०२४ मा देखापरेको जेएन१ भेरियन्टका नयाँ भेरियन्ट हुन् । जेएन१ उही भेरियन्ट हो, जसमा हालको कोभिड खोप आधारित छ ।
सीएनएका अनुसार यी नयाँ भेरियन्ट द्रुत गतिमा फैलिन्छन् र पहिले नै विकसित प्रतिरोधात्मक क्षमतालाई पनि छल्न सक्छन् । विज्ञहरूका अनुसार वृद्धवृद्धा, ६५ वर्षभन्दा माथिका व्यक्तिहरू र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएकाहरूलाई यो संक्रमण छिटो सर्नसक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन् । यसका साथै, मौसमी परिवर्तन, सामाजिक अन्तक्र्रिया र अन्तर्राष्ट्रिय यात्राले पनि यसको फैलावटलाई बढाउन मद्दत पुगिरहेको छ ।
२०८२ जेष्ठ १०
ताजा नेपाल
२०८२ जेष्ठ १०
ताजा नेपाल
२०८२ जेष्ठ १०
ताजा नेपाल