Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दशगजामा बन्दैछ ड्यामसहित सडक, सरकार रमिते

परासी । नेपालको राजनीतिक अस्थिरताको फाइदा सबैभन्दा बढी छिमेकी देश भारतले लिने गरेको छ । भारतले दशगजानजिकै एकतर्फी रूपमा ड्यामसहितको सडक निर्माण गरिरहेको छ । दुई देशबीचको तल्लो र माथिल्लो तटीय क्षेत्रको आठ किलोमिटरसम्म एकतर्फी ड्याम, ठूला संरचना र प्राकृतिक पानीको बहाव रोकिने संरचना निर्माण गर्न पाइँदैन । निर्माण गर्नुपरे दुवै देशको सहमति अनिवार्य छ । तर, भारतले प्रतापपुर गाउँपालिकाको झुलनीपुर नाका नजिकै दशगजाबाट ५० मिटर दूरीमा सडक निर्माण गरिरहेको हो । भारत उत्तर प्रदेश महाराजगन्ज जिल्ला निचरौल ग्राम पञ्चायतको क्षेत्रमा भारतको सीमा सुरक्षा सडक (बीआरओ) परियोजना अन्तर्गत पूर्वदेखि पश्चिमसम्म निर्माण भइरहेको हो । जसले गर्दा नेपाली भूमि डुबानमा पर्ने खतरा छ । ७ फिट उचाइ र २५ मिटर चौडाइको सडकमा कहीं पनि पुल तथा पानी निकासका लागि पूर्वाधार बनाइएको छैन ।
पानीको निकास थुनिँदा नेपाली भूभाग डुबानमा पर्ने सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । सडक निर्माण तत्काल नरोक्ने हो भने पश्चिम नवलपरासीको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका धेरै बस्ती डुबानमा पर्ने निश्चित छ । संविधानसभा सदस्य देवकरण कलवारका अनुसार यो सडक बनाउन भारतले वर्षौंदेखि प्रयास गरेको थियो । हरेक वर्ष केही किलोमिटर बढाउने रणनीतिअनुसार उसले काम गर्दै आएको कलवारले बताए । स्थानीयले नेपाल सरकारले सडक निर्माणको काम रोक्न नसके पनि पानीको निकासका लागि ठूला पुल बनाउने र सडकको उचाइलाई कम गर्न पहल गरिदिन आग्रह गरेका छन् । सुस्ता र प्रतापपुर गाउँपालिकाले नेपाल सरकारलाई पत्र पठाउँदै सडक निर्माणको काम रोक्न र नेपाली भूभाग डुब्ने गरी कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेका छन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतले दशगजानजिकै सडक बनाएको विषयमा गृह र प्रधानमन्त्री कार्यालयमा जानकारी गराएको बताए । स्थानीयले बासिन्दाले तत्काल सडक निर्माणको काम रोकेर समस्याको समाधान खोज्न सरकारसँग माग गरेका छन् । स्थानीयले जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र र स्थानीय तहले गृह मन्त्रालयमा जानकारी गराएको भए पनि निर्माणको काम रोकिएको छैन । गण्डक ब्यारेज र नहरका कारण डुबानको समस्या खेपिरहेका सीमावर्ती क्षेत्रका बासिन्दाले यो सडक निर्माण भएपछि दीर्घकालीन रूपमा बाढी र कटानको समस्या भोग्नुपर्नेछ । सरावल गाउँपालिका–७ का वडाध्यक्ष हेयात खाँ धुनिया आफैं चिन्तित छन् । गाउँलेहरू सडक निर्माणले बस्ती डुबानमा पर्ने भन्दै पहल गरिदिन आग्रह गर्छन् । तर, वडाध्यक्षको तहबाट यो काम नहुने भन्दै उनी स्थानीयलाई सम्झाउँदै छन् । सीमावर्ती भारतको लक्ष्मीपुरका वडाध्यक्षसँग उनले यस विषयमा कुराकानी पनि गरे ।