Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । लहरो तान्दा पहरो थर्किरहेको छ । यहाँ कसलाई जोगाउन सकिन्छ भन्ने होडबाजी चलिरहेको छ । अब ठाडै संलग्नता देखिएकाहरु बचाउन गरिएका प्रयास सफल भएका छैनन् । हुन्थ्यो भने बालकृष्ण खाँणहरु प्रहरी कष्टडीमा जाने थिएनन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेपछि कांग्रेस वृत्तमा कम्पन गएको छ । खाँण पक्राउ परेकामा भन्दा यो प्रकरणको लहरो तानिँदै जाँदा आफ्नै श्रीमती आरजु राणासम्म आइपुग्ने भयले सभापति शेरबहादुर देउवालाई बढी चिन्तित बनाएको उनीनिकट नेताहरू बताउँछन् । पार्टीको आमूल रूपान्तरणको मुद्दा उठाएर अभियानमा जाने तयारीमा रहेको कांग्रेसभित्रको एउटा पक्षले भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै धन्यवाद दिएको छ । देउवा बुधबार बिहान ९ बजेदेखि नै नेता–कार्यकर्ता भेटघाटमा जुटेका थिए । गण्डकी प्रदेश सरकारमा मन्त्री बनाउने विषयलाई लिएर बागलुङबाट आएको कांग्रेसको एउटा टोलीसँग बाहिर कुरा गरिरहेका बेला देउवालाई खाँण पक्राउ परेको खबर सुनाइएको थियो । खबर सुन्नासाथ उनी जुरुक्क उठेर भित्र गए । पछि बाहिर आउँदा निकै तनावमा देखिएको एक कार्यकर्ताले बताए । उक्त टोलीपछि देउवाले कोशी प्रदेशका कांग्रेस सांसदको डेलिगेसनसँग एकछिन छलफल गरे । कोशीमा सरकार निर्माणको एजेन्डा लिएर आएका सांसदसँग उनी खासै खुलेर बोल्न सक्ने अवस्थामा थिएनन् । खाँण पक्राउ परेलगत्तै देउवाले अपराह्न पार्टी पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीचमै विवाद भएको थियो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानलाई सघाउन पनि निलम्बन गर्नुपर्ने बताएका थिए । तर, सहमहामन्त्री महेन्द्र यादवसहित केही नेताले भने उनको बचाउ गर्दै निलम्बन गर्नु नपर्ने बताए । कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले भने निलम्बनको विषय बैठकमा नउठेको दाबी गरे । पदाधिकारी बैठक पूर्वनिर्धारित रहेकाले खाँणको पक्राउ र बैठक संयोग मात्रै भएको उनको तर्क थियो । देउवाको राजनीतिक सफलताका पछि खाँणको बलियो साथ रहँदै आएको थियो । उनको बलियो साथले १४ औं महाधिवेशनमा देउवालाई सभापति बन्न सहज बनेको थियो । महामन्त्रीको दाबा गरेका खाँणले देउवालाई सभापति बनाउन आफ्नो महत्त्वाकांक्षासमेत त्यागेका थिए । महामन्त्रीको प्रतिस्पर्धामा अघि सरेका उनी केन्द्रीय सदस्यमा खुम्चिए । मंसिर ४ को संसदीय चुनावमा पराजयपछि भने देउवासँग उनको सम्बन्ध पातलिएको थियो भने आरजुसँग राम्रो थिएन । आफू पराजित हुनुमा आरजुको असहयोग पनि कारण रहेको बुझाइ खाँणले अनौपचारिक रूपमा बताउने गरेका थिए । चुनावपछि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद चलिरहेका बेला गृहमन्त्रीको हैसियतमा रहेका खाँणलाई एक पटक बालुवाटार जानसमेत रोकिएको थियो । चुनावपछि खाँणले माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार बनाउँदा गठबन्धन जोगिने तर्क गर्दै आएका थिए । तर, उनको सुझाव आरजुलाई मन परेको थिएन । दाहाललाई कुनै हालतमा रोक्ने पक्षमा आरजु थिइन् । भुटानी शरणार्थी प्रकरणमा गिरोहका सदस्यले आरजुलाई साढे २ करोड र खाँणकी श्रीमती मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अप्रमाणित अडियो बाहिरिएपछि यी दुई परिवारबीच दरार आउनुमा आर्थिक लेनदेन नै मुख्य कारण रहेको कतिपय नेताहरूको बुझाइ छ । खाँणनिकट स्रोतका अनुसार गृह प्रशासनको सामान्य अनुभवसमेत नभएका टेकनारायण पाण्डेलाई गृहसचिव बनाएकामा त्यतिबेलै कांग्र्र्रेसभित्र चर्चा भएको थियो । खाँण पक्राउपछि संसद्मा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका छन् । भुटानी शरणार्थी प्रकरणको लहरो माथिसम्म तानिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएका निरन्तर बैठकप्रति संकेत गर्दै थापाले संसद्बाटै यस्तो भेटघाटले अनुसन्धानलाई प्रभावित पार्न नपाइने भन्दै चेतावनी दिएका छन् ।
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल