Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा किन गएनन् भारत ?

काठमाडौं । दक्षिणको छिमेकी भारत वर्तमान सरकारप्रति नरम बनेको छैन । बिहीबारमात्रै पूर्वप्रधानमन्त्री देउवाले पूर्वनिर्धारित भारत भ्रमणको कार्यक्रम अन्तिम समयमा रद्द गरेका छन् । भारतको उत्तर प्रदेश सरकारले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा उनी जाने कार्यक्रम थियो । आयोजकले कार्यक्रमको मुख्य वक्ताका रुपमा कांग्रेस सभापति देउवाको तस्बिरसहितको ब्यानरसमेत सार्वजनिक गरिसकेको थियो । उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तालिका थियो । तर, सभापति देउवाले बिहीबार बिहानमात्रै भारत भ्रमण एकाएक स्थगित गरेका थिए । उनी एयर इन्डियाको जहाजबाट बिहीबार दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तालिका थियो । आखिर पूर्वप्रधानमन्त्री देउवाले किन नयाँ दिल्ली हुँदै प्रयागराज जान तय भएको कार्यक्रम रद्द गरे ? यसबारे कांग्रेस र उनको सचिवालयले प्रस्ट खुलाएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवाको भारत भ्रमण स्थगित भएको पुष्टिसम्म गरेका छन् । यस्तै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भ्रमण रद्द हुनुको कारणबारे सञ्चारमाध्यमलाई भनेका छन्, ‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । भिडभाड हुनेजस्ता कारणले नजाने निर्णय गरिएको हो ।’ तर, कांग्रेस स्रोत नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता नहुने भएपछि सभापति देउवाले भ्रमण स्थगित गरेको बताउँछन् । आगामी प्रधानमन्त्रीका रूपमा हेरिएका सभापति देउवाले नयाँ दिल्लीसँग सम्बन्ध सुधार्ने चाहना राखे पनि भारतीय विदेशमन्त्री एस। जयशंकर र प्रधानमन्त्री मोदीलेसमेत भेट नदिने भएपछि भ्रमण रद्द गरेको स्रोतको भनाइ छ । ‘ओलीलाई सहयोग गरेपछि कांग्रेससँग मोदी रिसाएका छन् । देउवा निजी भ्रमणमा जान लाग्नु भएको थियो,’ कांग्रेसका एक नेताले खबरहबसँग भने, ‘निजी भ्रमण गए पनि राजनीतिक काम फत्ते गर्न खोजिएको हो । निजी भ्रमणमा जाँदा राजनीतिक काम नहुने देखिएपछि भ्रमण रद्द भएको हो ।’ कांग्रेसका अर्का नेता सत्ता गठबन्धनमा आशंका उत्पन्न हुन सक्ने आकलन गरेर सभापति देउवा पूर्वनिर्धारित तालिकाअनुसार प्रयागराज नगएको बताउँछन् । ‘सभापतिज्यू अहिलेको गठबन्धन तलमाथि नहोस् भन्नेमा हुनुहुन्छ,’ ती नेताले भने, ‘भारत पनि प्रधानमन्त्री ओलीसँग खुशी छैन । यस्तो बेला उता जाँदा गठबन्धनमा आशंका पैदा हुन सक्छ भनेर नजानुभएको होला ।’ तर, कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने यो तर्कमा सहमत छैनन् । ‘म अहिले सुनसरीमा छु । सभापतिज्यूको भ्रमण स्थगित भयो भन्ने खबर पाएँ,’ विश्वकर्माले खबरहबसँग भने, ‘तर, भारत जाँदा हाम्रो गठबन्धनमा के–के नै भइहाल्छ भन्ने होइन । हाम्रो गठबन्धन त्यति कमजोर छैन ।’


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल