Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा–गगन संवादहीनताले कांग्रेसको विवाद थप जटिल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयबाट पार्टीभित्र समानान्तर राजनीतिक गतिविधि बढाउन थालेका छन् । पाँच महिना विदेश बसेर साउन २८ गते नेपाल फर्किएका देउवा अहिले आफूनिकट नेता तथा कार्यकर्तासँग भेटघाट र परामर्शमा सक्रिय छन् ।

कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला देउवामाथि पनि राजनीतिक दबाब बढ्दै गएको छ । उनी आफ्नो सम्पर्क कार्यालयमा सभापतिकै हैसियतमा बसेर नेताहरू र कार्यकर्तासँग छलफल गरिरहेका छन् । नेपाल फर्किएको करिब दुई साता पुग्न लाग्दा पनि वर्तमान सभापति गगनकुमार थापासँग औपचारिक संवाद हुन नसकेपछि देउवा आफूनिकट नेताहरूसँग आगामी रणनीतिबारे परामर्शमा जुटेका हुन् ।

चुनदेवीमा छुट्टै कार्यालय सञ्चालन गर्दै देउवाले समानान्तर गतिविधि बढाएपछि कांग्रेसभित्रको विवाद थप सतहमा आएको छ । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगन थापाको नेतृत्वले मान्यता पाइसकेको अवस्थामा देउवाको राजनीतिक पुनरागमन सहज भने देखिँदैन । देउवा पक्ष अहिले विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट हुने अन्तिम निर्णयको प्रतीक्षामा छ ।

यसअघि देउवा र तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको १५औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ भने निर्वाचन समितिले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी तालिका पनि सार्वजनिक गरेको छ ।

देउवा पक्षले विशेष महाधिवेशनसम्बन्धी विवादको अन्तिम टुंगो नलाग्दासम्म नियमित महाधिवेशन अघि बढाउन नहुने तर्क गर्दै आएको छ । यसअघि पनि देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो । कानुनी परामर्शपछि आवश्यक संशोधन गरेर पुनः रिट दर्ता गरिएको हो ।

देउवा पक्षका नेताहरूले गगन थापाले पार्टीभित्र संवाद र सहमतिको वातावरण नबनाएको आरोप लगाएका छन् । कांग्रेस नेता रमेश लेखकले देउवा नेपाल फर्किएपछि पनि थापा पक्षबाट औपचारिक संवादको पहल नभएको बताए ।

उनले अदालतको निर्णयपछि मात्रै पार्टीभित्रको आगामी गतिविधि स्पष्ट हुने उल्लेख गर्दै अहिले १५औँ महाधिवेशनको प्रक्रिया एकतर्फी ढंगले अघि बढाइएको आरोप लगाए ।

कांग्रेसभित्रको विवादले विभाजनको सम्भावनासमेत जन्माएको देउवा पक्षका नेताहरूको अभिव्यक्तिबाट देखिन्छ । नेता डा. प्रकाशशरण महतले गगन थापा पक्ष एक्लै अघि बढ्न खोजेको आरोप लगाउँदै अदालतको निर्णयपछि थप राजनीतिक निर्णय हुने बताए ।

देउवा पक्षका केही नेताले सर्वोच्च अदालतबाट आफूहरूको पक्षमा निर्णय नआए नयाँ राजनीतिक विकल्प खोज्नुपर्ने अवस्था आउन सक्ने संकेतसमेत गरेका छन् । यद्यपि, देउवा स्वयंले भने अहिलेसम्म पार्टी विभाजनबारे कुनै सार्वजनिक धारणा व्यक्त गरेका छैनन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी वर्तमान सभापति गगन थापाको भएको बताए । उनले संवाद र सहमतिबिना महाधिवेशनको प्रक्रिया अघि बढाइए पार्टीभित्रको विवाद थप गम्भीर बन्न सक्ने संकेत गरे ।

संस्थापन पक्षका नेता कान्छाराम तामाङले पनि अदालतको निर्णयपछि आवश्यक परे छुट्टै पार्टी र निर्वाचन चिह्नको व्यवस्थासम्म गर्न सकिने अभिव्यक्ति दिएका छन् । यस्ता अभिव्यक्तिले कांग्रेसभित्रको विवाद अदालतको फैसलापछि नयाँ मोडमा जान सक्ने देखिएको छ ।

कांग्रेसभित्र विवाद चर्किरहेका बेला नेता डा. शेखर कोइराला भने दुवै पक्षसँग संवादमा छन् । केही दिनअघि कोइराला र देउवाबीच भएको भेटमा पार्टी एकता र संवादका विषयमा छलफल भएको थियो ।

कोइरालाले देउवालाई अभिभावकीय भूमिका निर्वाह गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने सुझाव दिएका थिए । उनी गगन थापा पक्षसँग पनि संवादमै रहेको उनका निकटस्थहरूले बताएका छन् ।

देउवा पक्षले गगन थापाले शीर्ष नेताहरूसँग पर्याप्त छलफल नगरेको र पार्टीलाई समेटेर अघि बढ्ने प्रयास नगरेको आरोप लगाएको छ । देउवा निकट नेताहरूले पूर्वसभापतिसँग संवादको पहल वर्तमान नेतृत्वले नै गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

उता, गगन थापा पक्ष भने १५औँ महाधिवेशनको प्रक्रिया तोकिएकै समयमा सम्पन्न गर्ने तयारीमा छ । कांग्रेस उपसभापति पुष्पा भुसालले पार्टी अब नयाँ महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेकाले पुरानो विवादमै अल्झिन नहुने बताएकी छन् । उनले पार्टी एकताका लागि देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेकी छन् ।

महामन्त्री प्रदीप पौडेलले पनि देउवा पार्टी विभाजनको पक्षमा नभए पनि उनलाई गलत सल्लाह दिने व्यक्तिहरूले फरक दिशामा लैजान खोजिरहेको टिप्पणी गरेका छन् । उनले अदालतको विषय अदालतलाई नै छाडेर पार्टीलाई १५औँ महाधिवेशनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

गगन थापा र देउवाबीच भेटवार्ताको चर्चा भए पनि अहिलेसम्म औपचारिक भेट निश्चित भएको छैन । दुवै पक्षले उपयुक्त समयमा संवाद हुने बताउँदै आएका छन् ।

अहिले कांग्रेसभित्र एकातिर १५औँ महाधिवेशनको तयारी तीव्र बनेको छ भने अर्कोतिर विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । देउवा पक्ष अदालतको निर्णय कुरिरहेको छ भने गगन थापा पक्ष निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने तयारीमा देखिएको छ ।

शीर्ष नेतृत्वबीच संवाद हुन नसक्दा कांग्रेसभित्रको विवाद थप जटिल बन्ने संकेत देखिएको छ । दोस्रो तहका नेताहरूले पार्टी विभाजन रोक्न दुवै पक्ष लचिलो हुनुपर्नेमा जोड दिँदै आएका छन् । अब कांग्रेसको विवादको निकास सर्वोच्च अदालतको निर्णय र त्यसपछि शीर्ष नेतृत्वबीच हुने राजनीतिक संवादले तय गर्ने देखिन्छ।