Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा गन्यापधुरा–१ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा बिहीबार सम्पन्न देउवा पक्षको वडा अधिवेशनबाट उनी सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। वडा सभापति पदम महताले देउवा सर्वसम्मत चयन भएको जानकारी दिएका छन्।

देउवा पक्षले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि संस्थापन पक्षको अधिवेशन प्रक्रियाभन्दा अलग रूपमा वडा अधिवेशन गरिरहेको छ। डडेल्धुरामा देउवा पक्षले असोज १५ गतेदेखि ५२ वटै वडामा अधिवेशन सुरु गरेको थियो।

कांग्रेसको १५औँ महाधिवेशनका लागि देउवा पक्षले देशभर वडा अधिवेशन प्रक्रिया अघि बढाएको छ। बिहीबारसम्म ठूलो संख्यामा वडामा अधिवेशन सम्पन्न भएको पक्षको भनाइ छ।

देउवाले क्षेत्रीय प्रतिनिधिका लागि स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएका थिए। त्यस्तै, उनका स्वकीय सचिव भानु देउवा पनि गन्यापधुरा–१ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। भानु देउवाले आफ्नो उम्मेदवारीका लागि स्थानीय इन्द्रबहादुर देउवालाई वारेसनामा दिएका थिए।

देउवा यसअघि पनि कांग्रेसका महाधिवेशनमा वडा तहबाट प्रतिनिधि छनोटको प्रक्रियामा सहभागी हुँदै आएका छन्।