Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाजीलाई सत्ता हस्तान्तरण हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन्। चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले के अब तपाईंको प्रधानमन्त्रीको कार्यकाल लम्बिएको हो भन्ने प्रश्नको जवाफमा ओलीले सत्ता हस्तान्तरणको समझदारीको प्रसंग उठाएका हुन्। उनले भने, यही प्रश्नको जवाफ मैले कतिपटक दिने ? करिब १८ महिना होला। मेरो पालो। त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ । चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। हामी सबैले बहुमत ल्याउने कोसिस गरौँला । बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ । हरेकलाई विश्वास छ, अब के गर्ने ? विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरु तरिकाहरु होलान् ।

प्रधानमन्त्रीले भने, ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग ऋणसम्बन्धी कुनै किसिमको सम्झौता नगरिएको बताएका छन् । चार दिने चीन भ्रमण सकेर फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको सवाल(जवाफका क्रममा यस्तो बताएका हुन् । ‘मैले दरबारमार्गमा आयोजित आमसभामै पनि अहिले कतैबाट ऋण लिँदैनौँ भनेको थिएँ । चीनसँग पनि ऋण लिन जाँदै‌नौँ भनेको हो’, उनले भने, ‘चीनसँग ऋणको कुरा नै भएन, त्यसबारे कुनै छलफल भएन ।’ उनले बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गतका नौ वटा परियोजना कार्यान्वयनका लागि पछि अलग्गै छलफल हुने पनि बताएका छन् ।
‘बीआरआई अन्तर्गतका हरेक परियोजना कार्यान्वयका क्रममा पछि दुई देशबीच छुट्टै छलफल हुन्छ’, उनले भने, ‘अहिले हामीले प्राप्त गरेको कुरा ऋण होइन । ऋणसम्बन्धी कुरा चलेको पनि छैन । सधैँ ऋण ऋण ऋण भनेर किन सारंगी बजाइएको छ ? ऋणसँग बीआरआईले सरोकार राख्दैन ।’ उनले ती सबै परियोजनाबारे चीनसँग अलग अलग छलफल हुने पनि बताए । ‘कार्यान्वयनका क्रममा हरेक परियोजनामा नयाँ छलफल र सम्झौता हुन्छ’, उनले भने, ‘मैले जानुअघि नै भनेको थिएँ, ऋणबारे कुरा हुँदैन। मिडियाले पनि लेखेका छन् ऋणबारे कुरा भएन । तर अझै किन ऋण ऋण भनेर बाजा बजाइन्छ ?’