Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवालाई गगनको कटाक्ष

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै कटाक्ष गरेका छन्।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले पटक–पटक उच्च राजनीतिक जिम्मेवारी सम्हालिसकेका नेतासमेत थप पद नपाउँदा असन्तुष्ट हुने गरेको टिप्पणी गरे। उनको भनाइ देउवातर्फ लक्षित रहेको देखिन्छ।

थापाले भने, ‘पाँच पटक प्रधानमन्त्री भइसकेको मान्छे छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ। दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ।’

उनले राजनीतिक नेतृत्वमा पद र जिम्मेवारीप्रतिको असन्तुष्टि पुरानो पुस्तामा मात्रै सीमित नरहेको भन्दै आफूहरूमाथि पनि प्रश्न उठाए।

‘हामीमै हेर्‍यौँ भने यही मञ्चमा बसेका मान्छे पनि जो जिम्मेवारी पाएका छौँ, त्यसमा हामी पनि असन्तुष्ट हुन्छौँ,’ थापाले भने।

थापाको यो अभिव्यक्ति कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संस्थापन–इतर पक्षबीचको विवाद चर्किरहेका बेला आएको हो। देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् भने कांग्रेस सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन्।

थापाको भनाइले भने कांग्रेसमा पदको निरन्तर आकांक्षा र नेतृत्व पुस्तान्तरणको बहसलाई थप पेचिलो बनाउने संकेत गरेको छ।