Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाले कांग्रेस महाधिवेशन उद्घाटन गर्ने सम्भावना छैन : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको १५औँ महाधिवेशन उद्घाटन गर्ने सम्भावना नरहेको बताएका छन्।

सभापति गगन थापासहित कांग्रेसका शीर्ष नेताहरूले सहमतिको वातावरण बनाउन देउवालाई महाधिवेशन उद्घाटनका लागि आमन्त्रण गर्ने प्रयास जारी राख्ने बताइरहेका बेला महतले देउवा उद्घाटनमा सहभागी हुने चर्चा गलत भएको दाबी गरेका हुन्।

महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंमा हुँदैछ। यहीबीच पोखरा पुगेका महतले देउवा महाधिवेशन उद्घाटनमा आउने भनेर प्रचार गरिनु भ्रमपूर्ण भएको बताए।

‘शेरबहादुर देउवा नै महाधिवेशन उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ भनेर झूटको प्रचार गरिँदै छ। विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झूट कुरा भन्न हिचकिचाउनुहुन्न,’ उनले भने।

महतका अनुसार देउवाले १४औँ महाधिवेशनबाट आफू निर्वाचित सभापति भएकाले १५औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने कुरा स्पष्ट रूपमा बताइसकेका छन्। उनले भोलिदेखि सुरु हुने वडा अधिवेशन नै कांग्रेसको आधिकारिक अधिवेशन प्रक्रियाअन्तर्गत रहेको जिकिर गरे।

महतले १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको सम्मानजनक सहभागितामा सम्पन्न हुने सुनिश्चितता खोज्दा सभापति गगन थापाले त्यसलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए।

‘अरू केही चाहिएन, अहिले जे भयो भयो। तर १५औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष, पारदर्शी ढङ्गबाट सबैको सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूले कुनै गम्भीरताका साथ दिनुभएन। त्यसैले हामी अदालतमा पुनरावेदनको लागि गयौँ,’ उनले भने।

यसअघिको फैसला त्रुटिपूर्ण भएकै कारण सर्वोच्च अदालतले आफूहरूलाई पुनरावेदनका लागि निस्सा दिएको महतको दाबी छ।

‘हामी एउटा सत्यको पक्षमा उभिएका छौँ। सत्यको अवश्य पनि जित हुन्छ। अदालतले त्रुटिपूर्ण छ भनिसकेको छ। नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने हाम्रो विश्वास छ। न्याय पाउँछौँ। त्यो न्याय पाइएन भने त न्याय नै मरिसकेछ भन्ने हुन्छ,’ महतले भने।