Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धम्कीले डराउलान् जनता ? खस्ला भाेट ?

काठमाडौं । आफ्ना एजेन्डा प्रस्तुत गरेर मतदाताको मन पगाल्न छाडेर राजनीतिक दलहरु धम्कीपूर्ण भाषामा मतदातासँग बार्गेनिङ शुरु गर्न थालेका छन् । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको अभिव्यक्तिको आलोचना भएको छ । दाहालले छोरी रेनुले भरतपुरमा नजिते देश दुर्घटनामा पर्ने भन्दै मतदाता तर्साउन खोजेका थिए भने आरजुले आफ्नो दलले नजितेका पालिकामा बजेट नै नपठाउने धम्की दिएकी थिइन् । सत्ता गठबन्धनले बिहीबार भरतपुरमा गरेको सभामा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाललगायत शीर्ष नेताले बोलेका थिए । दाहालले रेनु र चित्रसेनको टिम विजयी भए आफू निकै उत्साहित हुने र यो गठबन्धनलाई १०, १५, २० वर्ष लैजाने बताएका थिए ।
दाहालको यो अभिव्यक्तिको सबैतिरजस्तै चितवनमा पनि विरोध भएको छ । चितवनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता धर्मराज आचार्य दाहालको भाषणमा मतदातालाई घुक्र्याएको, धम्क्याएको संकेत देखिएको बताउँछन् । अर्का कानुन व्यवसायी जगन्नाथ भण्डारीले दाहालले मतदाता तर्साउने उद्देश्यले नै त्यसरी बोलेको बताउँछन् । सभाको अन्तिममा बोलेका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सत्तारूढ गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको र त्यो सफल भए गठबन्धन नरहने र कांग्रेस पार्टी पनि खत्तम हुने बताएका थिए । बिहीबार नै डडेलधुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवापत्नी आरजुले कांग्रेसले हारेका नगरपालिकामा पैसा नपठाउने अभिव्यक्ति दिइन् । कांग्रेस नेता–कार्यकर्ताले भने भाषणको आशयलाई बंग्याएर सामाजिक सञ्जालमा राणाविरुद्ध प्रचारबाजी गरिएको आरोप लगाएका छन् । डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्ललगायतको समूहले एमालेसँग तालमेल गरी तीन स्थानीय तहमा प्रमुख र दुई स्थानीय तहमा उपप्रमुखमा उम्मेदवार खडा गरेको छ ।