Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धार्मिकताको सुकर्मलाई समृद्धिसँग जोडौं

  • सूर्य बल तामाङ

कुनै पनि धर्मको उद्देश्य सामाजिक सद्भाव र भाइचारा नै हो । तर त्यही धर्मभित्रका पात्र र प्रवृत्तिका कारण सामाजिक सद्भाव खलबलिने र एक अर्कामा विद्वेष फैलिने काम भएका छन् । आफ्नो संस्कृति र धार्मिक स्वतन्त्रता उपभोग गरिरहँदा अर्काको आस्था र संस्कृतिमा आक्षेप, हस्तक्षेप गर्नु मानवीय, राजनीतिक र सांस्कृतिक रूपमै अनुचित कार्य हो । मानव–मानवबीच सौर्हाद, मानवीयता, सामाजिक न्याय र समानता नै सबै धर्मको उद्देश्य हुनुपर्छ । इसाई धर्मावलम्बीहरूको धर्म–शास्त्र बाइबलले धर्म शब्दलाई मानव कल्याणको पर्यायवाचीका रूपमा चित्रण गरेको छ । परोपकार धर्म हो र अरुलाई दुःख दिनु पाप हो भन्ने सबै शास्त्रको निचोड छ । मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने धार्मिकताको विकासको पूर्णतालाई धार्मिकताको मर्मका रुपमा बुझिन्छ । धार्मिकताले भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । यसु ख्रिस्टप्रतिको निष्ठावान विश्वासले धार्मिकताको ढोका उजागर गर्ने विश्वास गरिन्छ । इमानदारी र खुसीपूर्वक गरिने पुण्य कार्य सबै धर्म हुन् । संसारमा भएका सबै मानिसले आस्थाको वयक्तिक रुपमा अभ्यास गर्दछन् । धर्मका आधारमा कुनै जात, लिंग र समुदायलाई भेदभाव नगरिने राज्यको नीति नै धर्मनिरपेक्षता हो । जसलाई नेपालले पनि अंगिकार गर्दै आएको छ । जनआन्दोलनपछि निर्मित ०६३ को अन्तरिम संविधानले संस्थागत गरेको धर्मनिरपेक्षताको सवाललाई ०७२ को संविधानले अंगिकार गरेको छ । जुन कार्यान्वयनकै चरणमा छ । धर्मका बारेमा नागरिक जति सचेत र जागरुक हुनुपर्छ त्यति नै राज्यले पनि गम्भीरता लिन जरुरी छ । नेपाल भौगोलिक हिसाबले विश्व मानचित्रमा सानो भए पनि बहुजाति, बहुसांस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छ । नेपालीहरूले अभ्यास गर्दै आएका धार्मिक सहिष्णुता विश्वकै निम्ति अनुकरणीय छ । भौगोलिक बनावट, वातावरण र संस्कृतिमा विविधता यहाँको विशेषता हो । यस्तै विशेषताले गर्दा नेपाल विश्वमा धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित रहँदै आएको छ । अन्तरधर्मको सम्मान नेपाली समाजको अर्को विशेषता र परिचायक हो । नेपाली संस्कृति भन्नेबित्तिकै भेषभूषा, रीतिरिवाज, धार्मिक सद्भाव, पर्व, खानपान, जीवनशैली पर्छन् । सामाजिक रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएको हुन्छ ।
डिसेम्बर २५ का दिन विश्वभरका ईसाई धर्मालम्बीहरूले क्रिसमस दिवस मनाउँदै आएका छन् । ईसाईहरूको सबैभन्दा ठूलो यो पर्व विविध कार्यक्रमका साथ धुमधामका साथ मनाउने गरिन्छ । पछिल्ला दिनमा यो पर्व केवल ईसाईहरूले मात्रै नभएर गैर ईसाईहरूले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू गरी मनाउँदै आउनुले पनि अन्तरधर्मको सम्मानमा देखिएको सद्भावको रुपमा बुझ्न सकिन्छ । करिब चार सय वर्षअघिदेखि नेपालमा क्रिसमस मनाउन थालिएको इतिहास भेटिन्छ भने विश्व इतिहासमा रोममा इसा पूर्व ३५४ देखि यो पर्व मनाउन थालिएको हो । उपहार आदानप्रदान, मण्डलीहरूमा सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट, प्रार्थना, क्रिसमसक्यारोल, संगीतका माध्यमबाट यो पर्व मनाउने गरिन्छ । क्रिसमसले आपसी सद्भाव, एकता र भातृत्व सम्बन्धको विकासलाई पछिल्लो समयमा अझै प्रगाढ बनाउँदै लगेको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भएपछि सार्वजनिक रुपमा समेत क्रिसमस मनाउन थालिएको हो । यसले धार्मिक सहिष्णुतामा वृद्धि गर्नुका साथै अन्तरधर्मावलम्बीहरूबीच एकता कायम गर्न मजबुत भूमिका खेल्दै आएको छ ।
नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मात्र नभनी धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ । संविधानले धर्मनिरपेक्षताबारे यसरी स्पष्ट पारेको छ– सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ । सनातन भनेको शाश्वत या सधैं कायम रहेको भन्ने बुझिन्छ । तर, सनातन धर्म भनेको प्राचीन कालदेखि निरन्तर प्रयोगमा रहँदै आएका सबै धर्म हुन् । हाम्रो सन्दर्भमा हिन्दू, किराँत, बौद्ध, इसाई धर्म नै सनातन धर्म हुन् । धर्मनिरपेक्षताले सनातनदेखि चलिआएका सबै धर्म–संस्कृतिलाई संरक्षणको वाचा गर्दै नेपालका सबै धर्म–संस्कृतिलाई धार्मिक, सांस्कृतिक स्वतन्त्रता दिएको छ । यसो भन्दैमा धार्मिक स्वतन्त्रताको नाममा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न वा गराउन कसैलाई छूट भने छैन । विश्वमै धार्मिक सहिष्णुता कायम भएको देश भन्नेबित्तिकै सबैको मानसपटलमा नेपालको नाम अगाडि आउँछ । सामाजिक सद्भाव अभिवृद्धिका लागि धार्मिक सहिष्णुता प्रमुख माध्यम बन्दै आएको छ । यसलाई जीवन्त राख्ने काम यहाँ रहेका धार्मिक सम्प्रदायले गर्दै आएका छन् । कुनै पनि धर्म र संस्कारबिना नागरिक जीवन्त रहन सक्दैन ।
संघीय संरचना अंगिकार गरेपछि तीन तहका सरकार क्रियाशील छन् । तीनै तहका सरकारले अन्य विषयलाई जोड दिए जस्तै आ–आफ्नो क्षेत्रभित्र मनाइने धर्म संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम प्रारम्भिक रुपमा थालिएको छ । यसलाई अझै विस्तार गर्न जरुरी छ । धार्मिक सहिष्णुता कायम राख्दै यसको प्रवद्र्धन गर्न सके नेपाललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । यसतर्फ सरकार, राजनीतिक दल लगायत सबै धर्म सम्प्रदायका अगुवाहरूको ध्यान जान जरुरी छ ।
धर्मलाई विकास र समृद्धिसँग जोडेर अघि बढाउनुपर्छ । धार्मिकताको सुकर्मलाई विकास र समृद्धिसँग जोडेर कार्यमूलक दिशातर्फ अगाडि बढाउन सकियो भने यसको महत्व बढ्नेछ । यो वा त्यो धर्मका नाममा विवाद गर्नु भन्दा पनि मुलुकको समृद्धिका लागि सबै धर्मावलम्बीहरू एकजुट हुन आवश्यक छ । जसरी मुलुक परिवर्तका लागि भएका राजनीतिक आन्दोलनहरूमा सबै धर्मावलम्बीहरूको एकता, सद्भाव र क्रियाशीलता देखियो त्यसरी त्यो एकता संविधान निर्माणका क्रममा देखियो वास्तविकता सबैका सामु छर्लङ्ग छ । अब मुलुकलाई समृद्धि र विकासको यात्रामा अघि बढाउने बेला भइसकेको छ । यो अवस्थामा धर्मकै बहसमा अल्झिएर यथास्थितिमा बस्नु भन्दा मुलुक रुपान्तरणको लागि सोच्ने बेला आएको छ । यसमा सबै धर्मका अगुवा, संघ–संगठनहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । यसबाट नै देशको समृद्धि यात्रामा थप टेवा पुग्ने निश्चित छ ।

(लेखक २०१७ सालमा स्थापित भएको मण्डलीहरूको जेष्ठ छाता संगती नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष हुनुहुन्छ ।)