Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिक मरिरहँदा राष्ट्रपतिलाई नेकपाकै चिन्ता

काठमाडौँ । जसरी महाराजले आफू नांगै भएको कुरा एउटा अबोध बालकबाट पत्तो पाए त्यस्तै भएको छ अहिलेका सत्ता सञ्चालकहरुलाई । चाहे प्रधानमन्त्री केपी शर्मा ओली हुन् या राष्ट्रपति विद्यादेवी भण्डारी नै किन नहुन् । यतिबेला प्रधानमन्त्रीलाई नांगै बनिसकेको बताइदिने त्यो अबोध बालक भेटिएको छैन । उनी सुन्ड मुसुन्डको घेरामा पर्दा सबै नांगै बनिसकेको पत्तो पाएका छैनन् । त्यही कारण उनले शिक्षण अस्पतालमा पुगेर कोरोनाबाट पीडितको उपचार र नियन्त्रण कसरी गर्ने सरकारको योजना सुनाउन सकेनन् त्यहाँ पनि उनले राजनीति र सत्ताकै फर्मान गाए ।

जहाँ उनका ती शब्दहरुको आवश्यकता थिएन । त्यहाँ त आवश्यकता थियो शिक्षणा अस्पतालमै कार्यरत कर्मचारी उपचार नपाएर मर्नु पर्दाको कारण खोजी अस्पताल व्यवस्थापनलाई सचेत गराउनु र कुनै पनि विरामीको उपचारमा कमी कमजोरी नहुने प्रतिवद्धता व्यक्त गर्नु । तर, उनलाई चिन्ता देशको र जनताको होइन केबल सत्ताकै चिन्ता हुँदा जहाँ पनि राजनीतिनै घुस्ने गरेको हो । उता, मुलुकको अभिभावक बनेकी विद्यादेवी भण्डारीलाई आम नागरिकले कोरोना उपचार निःशुल्क नपाउँदा चिन्ता भएन । तर नेकपामा विवाद सिर्जना हुँदा र केपी ओलीको सत्ता डगमगाउँदा उनी हारगुहारमा निस्किइन् । के मुलुकको अभिभावकले आम नागरिकको उपचारमा राज्य पछि हट्नु हुँदैन भनेर बोल्न मिल्दैनथ्यो । कुनै पनि नागरिकले उपचार नपाई मर्नु पर्ने अवस्था सिर्जना नहोस् भनेर सरकारलाई निर्देशन दिन सकिँदैनथ्यो । के विद्या नेकपाको मात्रै राष्ट्रै पति हुन् ? सत्ता ढल्नु, अडिनु बहुदलीय व्यवस्थाको सौन्दर्य नै हो । बहुमत हुनेले सत्ता चलाउँछ, अल्पमत हुने प्रतिपक्षमा बस्छ । पार्टीमा पनि हुने त्यही हो । बहुमतको निर्णय पार्टी नेतृत्वले मान्नुपर्छ । पार्टीको निर्देशन प्रधानमन्त्रीले स्वीकार्नुपर्छ । केपी ओलीले पार्टी विधान र बहुमतको करद गरेका छन् राष्ट्रपतिज्यू ? तपाईंलाई देश र नागरिकको चिन्ता पलाउने शक्ति पशुपतिनाथले कहिले प्रदान गर्लान् ?

पार्टी स्थायी समितिको निर्देशन र सहमति तोडेर प्रम ओलीले तीन देशका राजदूत र तीन जना मन्त्री नियुतिm गर्दा पार्टीका समकक्षी नेताहरूलाई वास्ता गरेनन् । सम्झौता गर्ने तर कार्यान्ययन नगर्ने प्रम ओलीको शैलीबाट उपाध्यक्ष वामदेव गौतम हैरान भए । गौतमले पत्याउन छोडेपछि सर्वज्ञानी सर्वविज्ञ प्रम ओली अर्का अक्ष्यक्ष प्रचण्डलाई बेवास्ता गदै माधव नेपालतर्फ मोडिएका छन् । पहिल्यैदेखि ओलीको असयोग सहेका वरिष्ठ नेता नेपालले मिलेर जानको निमित्त विधि र प्रक्रियालाई अनुसरण गर्न आग्रह गरे पनि उनीबाट त्यो अपेक्षा गर्न सक्ने वातावरण छैन । किनकि यतिखेर ओलीले कर्णालीमा विवाद खडा गरेर आफ्ना हनुमानहरूबाट सत्ता एकलौटी कब्जा गर्ने अभियानसमेत चलाउन थालेका छन् । मान्छे उनैका भए पनि तीन राजदूत र तीन मन्त्री नियक्ति गर्दा पार्टी सचिवालयलाई छलफलको विषय दिलाएको भए यस्तो भद्रगोल हुने थिएन । तपाईं–हामी मिलौँ, अध्यक्षका निमित्त तयारी गर्नुस् भन्नुको आसय कार्यकारी अध्यक्ष घोषित गरिएका प्रचण्डलाई विश्वास नगर्नु हो ।

ओलीवाद प्रचण्ड र माधवतिर मात्र होइन, वामदेवलाई पङ्गु बनाएर मात्र थाकेन, ईश्वर पोखरेललाई बिनाविभागीय बनाउँदासमेत थाकेको छैन । उनको राष्ट्रवाद ओइलाउँदै गएको छ । भारतीय गुप्तचरका मालिक सामन्त गोयलसँगको भेटपछि सीमा अतिक्रमण र हस्तक्षेपकारी भारतीय व्यवहारप्रति लत्रिएको छ । यस्तो देख्दादेख्दै पदका निम्ति मरिहत्ते गर्ने गृहमन्त्री रामबहादुर थापा, उधोगमन्त्री लेखराज भट्टको गुट परिवर्तनमा साथ दिँदै सांसदहरू प्रभु साह, टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल र स्थायी सदस्य मणि थापाको ओली मोहको कारक पदीय लोप नै हुन सक्दछ । त्यसो त ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेतको असमक्षतामा, विवादित चरित्रकी खानेपानी मन्त्री बिना मगरसमेत मोहित नहोलिन् भन्न सकिँदैन । किनकि उनीहरू दुई वर्षभन्दा बढी सत्तामा रमाएका पात्र हुन् ।

अध्यक्ष प्रचण्डले पुराना मन्त्री हटाउन जोड दिनुको कारण सरकारको क्रियाशीलता राम्रो नहुनु हो । अहिले सरकारको सफलता भनेको भष्ट्राचार बढाउनु हो । यो सरकारले अदालतको आदेश मान्दैन, प्रशासनिक निश्पक्षता दिँदैन र गरीबको सेवा गर्दैन । लकडाउनका कारण रोजगारी गुमाएकाहरूको अवस्था बुझ्दैन, विश्व महामारीको चपेटामा देश डुब्दा कोरोना सङ्क्रमितहरूको उपचारमा गम्भीरता देखाउँदैन । तर बिचौलिया दलाल र कमिसनखोरहरूको हितमा काम गरेका कारण सांसदहरूले समेत सन्तुष्टि मान्ने ठाउँ छैन । कानुनसम्मत् काम नभएपछि सुशासन र समृद्धि आउँछ कसरी ? जहाँ पारदर्शिता र जवाफदेहिता छैन भन्ने कुरा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नहुनुले छर्लङ्ग पार्दछ । एकीकृत पार्टीको मान्यता नराखेपछि अराजकता र छाडावादले टाउको उठाउँछ । यस्तै अवस्थाले नेपाली काँग्रेस थला परेको हो । यो अवस्थामा बहुमतको नाउँमा तानाशाह चरित्र स्वीकार्र्य हुँदैन । ओली र उनको टिममाथि यस्ता प्रश्न वामदेवले बारम्बार उठाए तर सुनुवाइ भएन ।

पार्टी विभाजनको तयारीसँगै सांसद अपहरणसम्म गर्न सक्ने समृद्धि र विकासका नायक ओलीसँग अल्पमत र बहुमतको लडाइँ गर्नुहँुदैन । तर उनले पनि पार्टीको विधि र प्रक्रिया तोड्नुहुँदैन । सामन्तवादी शैली देखाउने हैन, जुन शैलीका कारण अहिले विवाद चर्किएको छ । यसले नेकपाको मात्र होइन, बहुमत प्राप्त सरकारको नेतृव्व गर्ने प्रधानमन्त्रीको कद घटाएको छ । सुधार गर्नुपर्छ, पार्टीको मूल्य–मान्यता त्यागेर पदको निमित्त गलत गठबन्धन घातक सिद्ध हुनेछ । नेकपाका लागि बहुमत प्राप्त सरकार चलाउन पाउनु अवसर हो । यो अवसर यस्तै गतिविधिले आगामी दिनमा प्राप्त हुने अवस्था रहेन किनकि ओलीवाद आफ्नो गुट र भारदारी सभाका निमित्त जति सहज छ, पार्टी, जनता र देशका निमित्त सहज हुन सकेन ।