Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लगातार भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रकारका सवारीसाधन नागढुंगामा रोकिएका छन्।
बिहीबार बेलुकी ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएका हुन्।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, कुरिनटारनजिकैको धारापानीलगायत विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएको छ। ती स्थानमा पहिरो हटाउने तथा सडक खुलाउने काम भइरहेको छ।
वर्षाका कारण पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने जोखिम बढेपछि सुरक्षाका दृष्टिले सवारीसाधन रोकिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङ र चितवनले समेत सूचना जारी गर्दै राजमार्गमा तत्काल सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका छन्।
नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखा लगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधन नागढुंगामै रोकिएका छन्। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधनसमेत रोकिएपछि यात्रु र चालक प्रभावित भएका छन्।
लगातारको वर्षाका कारण सडकका विभिन्न स्थानमा थप पहिरो तथा लेदो आउन सक्ने सम्भावना रहेकाले सडकको अवस्था हेरेर मात्रै सवारीसाधन सञ्चालन गरिने जनाइएको छ। मौसम तथा सडकको अवस्था सुधार भएपछि सुरक्षा निकाय र सम्बन्धित निकायको समन्वयमा रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउने तयारी गरिएको छ।
सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक नभएसम्म यात्रा नगर्न यात्रुलाई आग्रह गरेका छन्। लामो दूरीको यात्रा गर्नुपर्ने भएमा सडकको पछिल्लो अवस्था बुझेर मात्र प्रस्थान गर्नसमेत अनुरोध गरिएको छ।
वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
२०८३ आश्विन ९
ताजा नेपाल
२०८३ आश्विन ९
ताजा नेपाल
२०८३ आश्विन ८
ताजा नेपाल