Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाको विवादबारे शितल निवासमा छलफल

काठमाडौं। अहिले नेकपाको विवादको छलफलस्थल शितलनिवास बन्दै गएको छ । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चरमोत्कर्षमा पुगिरहेका बेला बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

सत्तारुढ दल नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद चर्किरहेका बेला दुई अध्यक्षले राष्ट्रपति भण्डारीसँग छुट्टाछुट्टै भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री तथा ओलीले राष्ट्रपतिलाई बिहीबार बिहान भेटेका थिए भने प्रचण्ड साँझ शीतल निवास पुगेका थिए । स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रचण्डबीच करिब १ घण्टा कुरा भएको छ।

प्रचण्ड ६ बजे शीतल निवास छिरेका थिए भने सवा ७ बजे बाहिरिएका थिए। भेटमा के कुरा भयो भन्ने विषय भने खुलाइएको छैन। तर, सत्तारुढ दल नेकपाको विवादमा चासो राख्दै आएकी राष्ट्रपति भण्डारीले यो भेटमा पनि नेकपाको विवादमै केन्द्रित रहेर छलफल गरेको बुझिएको छ। नेकपामा अहिले दुई अध्यक्षले पेश गरेका छुट्टा छुट्टै राजनीतिक प्रस्ताव छन्। प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले त्याग गर्नुपर्ने प्रस्ताव छ भने ओलीको प्रस्तावमा कुनै त्याग नगर्ने बरु महाधिवेशनमा केन्द्रित हुने प्रस्ताव छ। हालसम्म ९ सदस्यीय सचिवालयमा प्रचण्ड समूहको बहुमत रहेकाले प्रधानमन्त्री तथा अध्यक्ष ओली दबाबमा छन्।

बुधबार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि बैठक २० गतेसम्मलाई स्थगित गरिएको छ। यो तीन दिनको अवधिमा विवाद समाधानका लागि घनिभुत प्रयास हुने नेकपा नेताहरुले बताएका छन्। यही प्रयास स्वरुप राष्ट्रपतिसँग दुई अध्यक्षको भेट भएको हो। उता राष्ट्रपति विद्या भण्डारीका प्रस विज्ञ टिका ढकालले प्रधानमन्त्री र राष्ट्रपतिबीच नियमित भेट भएको बताए। तर, प्रचण्डसँगको भेटबारे भने आफूलाई जानकारी नभएको बताए।


सम्बन्धित समाचार