Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पक्राउ परेकी तुलसीमाथि के हुन्छ कारबाही ?

काठमाडौं । थाइल्याण्डमा पक्राउ परेर नेपाल ल्याइएकी टिकटकर्ता तुलसी अधिकारीलाई सोमबार ललितपुर जिल्ला अदालतमा पेश गरिँदैछ। उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा पुर्पक्ष प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगीको आरोपमा मुद्दा दर्ता गरिएको हो। उक्त जाहेरी २०८२ साउन २४ गते दर्ता भएको थियो। त्यसपछि उनी फरार रहेकी थिइन्।

प्रहरीका अनुसार प्रारम्भमा चीनमा रहेको सूचना पाएपछि उनीविरुद्ध डिफ्युजन नोटिस तथा रेड कर्नर नोटिस जारी गरिएको थियो। पछि चीनबाट भागेर थाइल्याण्ड पुगेकी उनलाई इन्टरपोलको सहयोगमा त्यहीँबाट पक्राउ गरी नेपाल ल्याइएको हो।

अनुसन्धानका क्रममा अधिकारी र व्यवसायी चिमोरियाबीच व्यक्तिगत सम्बन्ध रहेको देखिएको प्रहरीले जनाएको छ। सम्बन्ध बिग्रिएपछि उनले जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै पटक–पटक रकम तथा गरगहना लिएको आरोपसमेत लागेको छ।

प्रहरी अनुसन्धानअनुसार तुलसी अधिकारीले २० करोड रुपैयाँभन्दा बढीको बैंकिङ कारोबार गरेको देखिएको छ। फरार अवस्थामा पनि नेपालका बैंक खातामा एक करोडभन्दा बढी मौज्दात भेटिएको तथा उनको कुल सम्पत्ति १६–१७ करोड रुपैयाँ आसपास रहेको अनुमान गरिएको छ।

फरार भएपछि उनले आफू चीनमा रहेको दाबी गर्दै भिडियो सन्देशमार्फत प्रहरी अधिकारीलाई समेत आरोप लगाएकी थिइन्। तर अनुसन्धानले ती आरोपहरू पुष्टि नभएको प्रहरी स्रोतले जनाएको छ।

अधिकारी छोरीसहित चीन गएको र छोरी हाल पनि उतै अध्ययनरत रहेको बताइएको छ। उनी ललितपुरको भैँसेपाटीमा घर निर्माण गरेकी थिइन्।

उनविरुद्ध सम्पत्ति शुद्धीकरण, ठगी र आपराधिक लाभसम्बन्धी तीन वटा मुद्दा चलेका छन्। सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएमा २ देखि १० वर्षसम्म कैद, बिगोको दोब्बर जरिवाना तथा गम्भीर अवस्थामा २० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

त्यसैगरी ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा ३ वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था भए पनि कसुरको गम्भीरताअनुसार सजाय थप कडा हुन सक्ने कानुनी प्रावधान रहेको छ।