Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहुँचवालाले लगाए बुस्टर डोज

काठमाडौँ । पहुँचवालाहरुका लागि राज्यका सबै स्रोत साधन जतिबेला पनि उपलब्ध हुन्छ । मुलुक कोरोनाले आक्रान्त हुँदा पहुँचवालाले अक्सिजनका सिलिण्डर घरघरमा थन्क्याए भने माक्स र सेनिटाइजरका बाकस घरैमा पु¥याए । जनसंख्याको ठूलो हिस्सा कोभिडविरुद्ध खोपको पहिलो डोजबाटै वञ्चित रहेका बेला पहुँचवालाले धमाधम बुस्टर डोज लगाइरहेको पाइएको छ । सरकारले बुस्टर डोजबारे कुनै निर्णय गरेको छैन तर केही स्वास्थ्यकर्मी, राजनीतिकर्मी र प्रशासकले बुस्टर डोज लगाउने क्रम एक सातायता तीव्र बनेको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार बुस्टर डोजका रूपमा अस्ट्राजेनेका, भेरोसेल र फाइजर खोप लगाइएको छ । बुस्टर डोज वा अतिरिक्त मात्रा जे नाम दिनुस्, यो लगाउने क्रम ठूलाबडाबाटै चलेको छ, उनले भने, कतिपय ठाउँमा त खोप लिइसकेकाले पहिलो डोज लगाउन आएको भन्दै खोप लिएको समेत पाइएको छ । राजधानीकै एक चिकित्सकले आफूसहित धेरैले बुस्टर डोज लगाइसकेको बताए । धेरैजसोले पहिले लिएको कोभिसिल्ड, भेरोसेललाई नै बुस्टर डोजका रूपमा ०.५ एमएल लिएको र केहीले मिक्स एन्ड म्याच रणनीतिअन्तर्गत फाइजर लिएको उनले बताए ।

शनिबारसम्म कुल जनसंख्याको ३७.१ प्रतिशत अर्थात् १ करोड १२ लाख ६० हजार ५ सय ४९ जनाले एक डोज र ३०.४ प्रतिशत अर्थात् ९२ लाख ४१ हजार २ सय ६१ जनाले पूर्ण खोप लगाएका छन् । राजधानीका केही ठूला अस्पतालका स्वास्थ्यकर्मीलाई दोस्रो डोज नलगाइएको भन्दै बुस्टर डोज दिइएको एक सरकारी अधिकारीले दाबी गरेका छन् । नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले पनि घुमाउरो पाराले पहुँचवालाले बुस्टर डोज लगाएको स्वीकार गरे । आफूखुसी बुस्टर डोज लिँदा दुर्घटना निम्तिने जोखिम भएकाले सरकारले उपयुक्त नीति तत्काल सार्वजनिक गर्नुपर्ने विज्ञहरूले बताएका छन् । सरकारले खोपका बारे समयमै निर्णय नलिँदा अराजकता देखिएको उनीहरूको भनाइ छ ।