Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रहरी सरुवाको भापदण्ड तयार गरेको एक साता नपुग्दै सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ । मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको छ । कार्यविभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ । अरु तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ । पछिल्लो पटक भुटानी शरणार्थी प्रकरणमा आफूप्रतिकूल अनुसन्धानमा श्याम ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल कांग्रेसका नेता असन्तुष्ट थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत ज्ञवाली सरुवा गर्न चाहेका थिए । उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन् । पछिल्लो पटक यसै प्रकरणमा थप उजुरी परेपछि दोस्रो चरणको अनुसन्धान प्रक्रियासमेत अगाडि बढेको छ । उनीहरूकै टिमले गरेको अनुसन्धानमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीसहितका उच्च पदस्थ अधिकारी तानिएका थिए । उनीहरू हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् । अनुसन्धानकै क्रममा कांग्रेस सभापति देउवापत्नी एवं सांसद आरजु राणा देउवा र खाणपत्नी मञ्जु खाणसमेत शंकाको घेरामा परेका छन् । यो अनुसन्धानसमेत अगाडि बढ्नेप्रति सत्ता गठबन्धनका नेताहरूबीच पटक पटक छलफल भएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल