Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाइलट विजय लामालाई उडानमा रोक

काठमाडौँ । नीति नियम जोसुकैलाई लाग्छ र लाग्नु पनि पर्छ । उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक (ग्राउन्डेड) लगाएको छ । वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो । विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो, निगमको अपरेसन विभागले जारी गरेको कारबाहीपत्रमा लेखिएको छ । ५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको निगमका एक निर्देशकले बताए । उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा छ । निगमले ग्राउडेड गरेपछि पाइलट लामा मलेसियामा भइरहेको जल उद्धार तालिममा सहभागी हुन पाएनन् भने हाल उनलाई उडान रोस्टरमा पनि राखिएको छैन । लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए । कारण पुष्टि नगरी उडिरहेको विमानमा हुने यस्ता क्रियाकलापलाई उडान सुरक्षामा असर पार्न सक्ने गतिविधि मानिन्छ ।