Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने बताएका छन्। थापाले मंगलबार वक्तव्य जारी गर्दै यो प्रकरणमा जोडिएर पक्राउ परेकाहरूलाई पार्टीले निलम्बन गर्नुपर्ने बताएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र महाधिवेशन प्रतिनिधि एवं पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्। हिरासतमा रहेका खाँण र शेर्पासँग प्रहरीले बयान लिइरहेको बेला महामन्त्री थापाले उनीहरूलाई जोगाउने काम गर्न नहुने बताएका हुन्। शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो उनीहरूको निजी विषय हुने थापाले वक्तव्यमा भनेका छन्। ‘यति गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ। अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ। पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि, आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ,’ उनले भनेका छन्। पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा पाइसकेपछि पार्टीले त्यसको भारी बोक्न नहुने थापाले बताएका छन्। थापाले वक्तव्यमा भनेका छन्,‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुनसक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन। पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो–अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ। दोषी र निर्दोषी छुट्याउने कानुनी प्रक्रियाबाट हो।’ अभियोग लाग्दैमा निलम्बन गर्ने पार्टीको परम्परा नभएको कतिपय नेताहरूको विचार आएकोप्रति उनले असन्तुष्टि जनाएका छन्। थापाले परम्परा गलत भए तोडिनुपर्ने धारणा राखेका छन्। ‘यसमा म पनि प्रष्ट छु–गलत परम्परा तोडिनुपर्छ। परम्पराको नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन। मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु,’ उनले भनेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र पार्टीआबद्ध हरेक सदस्यले छानबिन प्रक्रियालाई सघाउनुपर्ने थापाको भनाइ छ। महामन्त्री थापाले अगाडि भनेका छन्,‘आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानुनबमोजिम सजाय पाउनै पर्छ। जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने स्वभाविक हो र पार्टीका साथीहरूले त्यहीअनुसार बुझ्नुपर्छ।’ उनले शरणार्थी प्रकरणको मात्रै नभएर अख्तियार दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरूपयोग जस्ता विगतका अन्य मुद्दाहरूको पनि निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने जिकिर गरेका छन्।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल