Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाहुना कुद्ने क्षेत्रमा पानी पनि रोकियो

काठमाडौं । चिनियाँ राष्ट्रपति सीजिन पिङको भ्रमणका लागि रोपिएका हाँगा ओइलाइसकेका छन् । जरा बिनाका फुलले कतिदिन शहर सुन्दर बनाउन सक्ला ? नगरपालिकाले हालेको पानीले जरा बिनाका हाँगाले जरा हाल्न सक्ने कुरै भएन । तर पनि राजधानीको सडक रंग्याउन राष्ट्रले झण्डै १ अर्ब रुपैयाँ खर्च गरेकै छ । सडक विभागले सडकमा भएका खाडल टाले पनि महानगरीय प्रहरी आयुक्तको कार्यालय अगाडि भैंसी नै आहाल बस्न मिल्ने पोखरीतर्फ कसको नजर पुग्थ्यो र ? किनकि त्यता चिनियाँ पाहुनाको गाडी पनि दौड्दैन । न त बागबजारबाट भित्रै नै छिर्छ ।

पाहुना आउने बेलामा अस्थायी भए पनि सडक सिंगारेर राज्यको ढुकुटी खान पल्केका कर्मचारी र नेताहरुको चरित्रप्रति जति आलोचना गरे पनि पुग्दैन । यही बेला राजधानीमा फोक्सोको क्यान्सर रोगको कारक देखिएको मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तार कार्यक्रमले समेत जनताका आँखामा छारो हाल्ने बाटो पायो । सरकारले चिनियाँ राष्ट्रपछि जताजता कुद्छन् त्यतैत्यतै स्वागतद्वार पनि बनाएको छ, धुलो मेटाउन अस्थायी पिच पनि गरेकै छ । कोटेश्वर तीनकुनेमा धुलोको थुप्रोमाथि दुबो र बिरुवा रोपे पनि ती दुवै ओलाउन थालिसकेका छन् । काठमाडौं महानगरपालिका, वनस्पति उद्यान विभाग, सडक विभाग, उपत्यका सडक डिभिजन कार्यालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, वन विभाग, वातावरण विभाग जस्ता सरकारी कार्यालयहरुमार्फत् राज्यको रकम खर्च गर्दा त्यसको स्थायी सदुपयोग गर्न सकेको भए चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सार्थकता झल्कन सक्थ्यो ।

राष्ट्रपतिसँग नेपालले बहुपक्षीय हितका निम्ति जे जस्ता विषयमा सम्झौता गरे पनि नेपालीहरुको वर्गीय चरित्र, नेताहरुको भ्रष्ट प्रवृत्तिलाई लुकाउन चक्रपथदेखि जमलसम्मका जनताको धारामा पानी समेत बन्द गरिएको छ । कारण हो, टालिएका सडकमा पानी चुहिएर आहाल बन्ने डर । जमलबाट चक्रपथसम्म पुग्दा ५७ ठाउँमा पानी चुहिने गरेकाले त्यो सडकमा राष्ट्रपति सीजिन पिङको यात्रा हुने भएका कारण असोज २३ गतेदेखि आइतबारसम्मका लागि उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाले पानी वितरण समेत बन्द गरेको उपभोक्ताहरुले बताएका छन् ।

बेलामा पानीको चुहावट रोकिएको भए अहिले टालिएको सडक कोतर्नु पर्ने पनि थिएन, जनतालाई पानी नै बन्द गरेर पाहुनाको स्वागत गर्नुपर्ने बाध्यता पनि पर्ने थिएन । मेलम्चीको नाममा लुट मच्चाउनेहरु प्रधानमन्त्री कार्यालयदेखि मेलम्ची विकास समितिमा समेत उग्राइरहेका छन् । तर जनता आइरहेको पानीबाट बञ्चित हुनुपरेको यो स्थितिमा ढाटेको कुरा र फाटेको लुगा लुकाएर लुक्दैन भन्ने उखान एक पटक सरकारको यो व्यहवारले स्मरण गराएको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल