Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रहरी तथा सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेका पूर्वअधिकृतहरूको उल्लेख्य उपस्थिति देखिएको छ। महाधिवेशनमा पूर्व एआईजीदेखि असईसम्मका नौ जना पूर्वप्रहरी केन्द्रीय सदस्य पदका आकांक्षीका रूपमा मैदानमा उत्रिएका छन्।
प्रहरी संगठनमा फरक–फरक जिम्मेवारी र दर्जामा रहे पनि महाधिवेशनमा उनीहरूको साझा लक्ष्य भने केन्द्रीय सदस्य पद रहेको छ।
पूर्व एआईजी विश्वराज पोखरेल कोशी प्रदेशको भौगोलिक क्लस्टरबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्। प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित भएका पोखरेल महाधिवेशनमा सक्रिय रूपमा मत मागिरहेका छन्।
त्यसैगरी, नेपाल प्रहरीका पूर्व असई तथा पर्सा–४ बाट निर्वाचित सांसद टेकबहादुर शाक्य पनि केन्द्रीय सदस्यका दावेदार छन्। उनी आफूलाई ‘पूर्व असई’ भन्दा ‘भूपू अफिसर’ का रूपमा परिचित गराउन रुचाउने बताइन्छ।
सशस्त्र प्रहरीका पूर्व डीआईजी विदुर खड्का बागमती प्रदेशबाट केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा छन्। पूर्व डीआईजी दुर्गाप्रसाद भट्टराईले पनि उम्मेदवारी दिने तयारी गरे पनि हालसम्म औपचारिक रूपमा प्रचारमा सक्रिय देखिएका छैनन्।
सशस्त्र प्रहरीका पूर्व एसएसपी विश्वेश्वर थापा पनि केन्द्रीय सदस्य पदका आकांक्षी हुन्। भक्तपुरबाट प्रतिनिधित्व गर्ने सम्भावित उम्मेदवारहरूको संख्या बढी भएकाले उम्मेदवारी व्यवस्थापनबारे छलफल भइरहेको स्रोतले जनाएको छ।
नेपाल प्रहरीका पूर्व एसएसपी विक्रमसिंह थापा पनि केन्द्रीय सदस्यका उम्मेदवार छन्। यसअघि नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रहेका थापा पछिल्लो समय रास्वपामा आबद्ध भएका हुन्।
पूर्व एसएसपी जीवनकुमार श्रेष्ठ गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदका प्रत्याशी बनेका छन्। प्रहरी सेवाबाट अवकाश लिएलगत्तै उनी रास्वपामा सक्रिय भएका थिए।
नेपाल प्रहरीका पूर्व डीएसपी तथा कानुन व्यवसायी गोविन्द पन्थी पनि केन्द्रीय सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। उनी प्रतिनिधिसभा निर्वाचनमा गुल्मी–२ बाट निर्वाचित सांसद हुन्।
यस्तै, झापा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल प्रहरीका पूर्व वरिष्ठ सई शम्भुप्रसाद ढकाल (सुस्केरा) पनि महाधिवेशनस्थलमा केन्द्रीय सदस्यका लागि मत माग्दै सक्रिय देखिएका छन्।
रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न सुरक्षा निकायबाट अवकाश प्राप्त व्यक्तिहरूको उल्लेख्य सहभागिताले पार्टीभित्र नयाँ नेतृत्व चयनमा प्रतिस्पर्धा रोचक बनेको छ।
२०८३ असार ८
ताजा नेपाल
२०८३ असार ८
ताजा नेपाल
२०८३ असार ८
ताजा नेपाल