Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पोखरेल पक्षको एकलौटी जितपछि ओखलढुंगामा पुनः प्रतिनिधि छनोट गर्न एमालेको निर्देशन

काठमाडौं । एमाले केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्ला कमिटीलाई प्रतिनिधि निर्वाचन प्रक्रिया पाँच दिनभित्र पुनः सुरु गर्न निर्देशन दिएको छ। १६ मंसिरमा जारी गरिएको पत्रमार्फत केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले सदरमुकाममा गरिएको प्रतिनिधि छनौट प्रक्रिया अस्वीकार्य भएको स्पष्ट गरेका छन्। एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका सम्बन्धमा अपानी–१३ को निर्देशन, आठमध्ये छवटा पालिका कमिटीहरूको माग, बहुसंख्यक इच्छुक उम्मेदवारहरूको असहमति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशनसमेत उल्लङ्घन गरिएकाले प्रतिनिधि चयन मान्य नहुने निर्णय गरिएको पत्रमा उल्लेख छ। यसका लागि सबै आम सदस्यहरूलाई प्रभावकारी माध्यमबाट सूचना प्रवाह गरी पालिका–स्तरमै मतदान केन्द्र स्थापना गरी पुनः निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको छ। पुनः हुने निर्वाचनलाई सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई आवश्यक समन्वय गरी सहयोग गर्न पनि जिम्मेवारी तोकिएको केन्द्रीय कार्यालयले जनाएको छ। केन्द्रीय पार्टीले दिएको निर्देशनअनुसार अब पाँच दिनभित्र ओखलढुङ्गामा पुनः प्रतिनिधि छनोट प्रक्रिया सञ्चालन हुने भएको छ। नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार ओखलढुंगामा भएको निर्वाचनमा १५१८ मत खसेको थियो। निर्वाचनमा
ईश्वर पोखरेलको समूहले ओखलढुङ्गामा ‘क्लीन स्वीप’ गरेको थियो। सबै १२ प्रतिनिधि पोखरेल पक्षकै निर्वाचित भएका थिए। खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका छन्। महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ, युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधि भएको घोषणा गरिएको थियो। १२ पदका लागि ४१ जनाले उम्मेदवारी दिएका थिए। सहमति नजुटेपछि निर्वाचन समितिले मतदानमार्फत प्रतिनिधि चयन गरेको जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले बताए। जिल्लामा जम्मा ७,१३५ मतदाता रहेका मध्ये १,५१८ मतदाताको सहभागितामा मतदान सम्पन्न भएको थियो। जिल्ला सदरमुकाममा मात्रै मतदान केन्द्र राखेर गरिएको प्रतिनिधि छनौटलाई अब सबै पालिकामा पनि मतदान केन्द्र तोकेर ५ दिन भित्र पुन प्रक्रिया शुरू गर्न भनिएको छ। ओखलढुङ्गाको मतदान प्रक्रियालाई स्वीकार गर्न नसकिने नेकपा एमाले कोसी प्रदेश कमिटीले यश अघि नै भनिसकेको थियो। प्रदेश अध्यक्ष घनश्याम खतिवडाले त्यहाँ विवाद भएको र १५ प्रतिशत पनि मत नखसेको कारण परिणाम स्वीकार गर्न नसकिने बताएका थिए।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल