Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड समूहलाई मोहजालमा पार्न पौडेलको दौडधूप

काठमाडौं । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पठाएका छन् । प्रधानमन्त्री ओली यस पटकको विवादलाई पनि थामथुम पारेर कुर्सीमै रहने खेलमा आफ्ना दूतहरुको सक्रियता बढाएका छन् । महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विवाद समाधानको प्रयास स्वरुप महासचिव पौडेललाई भेट्न मंगलबार खुमलटार पठाए पनि पौडेलले ठोस सन्देश के लगे भन्ने खुलिसकेको छैन । पार्टीमा देखिएको समस्याकै बारेमा कुराकानी भएको खुमलटार स्रोतले बताएको छ । ओली बुधबार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । त्यसका लागि उनले आफ्ना दूतहरुमार्फत प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दवाव दिइरहेका छन् । सोही योजनाअनुसार ओलीले आइतबार र सोमबार विभिन्न पक्षका नेताहरुसँग भेटवार्तालाई तीव्रता दिएका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर ओलीले भेटवार्ता गरेका थिए । ती भेटवार्तामा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्नसक्ने बताउँदै आएका छन् । गत शुक्रबार झण्डै ४० दिनपछि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । जसमा अध्यक्ष ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै योगदान गर्न सुझाव दिइएको छ । तर ओलीले उक्त सुझावलाई आफुमाथिको प्रहार ठानेका छन् । सोही क्रममा नेता नेपाल र गौतमले समेत ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिइसकेका छन् ।


सम्बन्धित समाचार