Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई बादलको प्रश्न, जनयुद्ध पीडितका लागि के गर्नुभो

काठमाडौं । नेकपा विभाजनपछि अहिले गाँड कोराकोरको स्थितिमा नेताहरु पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई लाल गद्दार भन्नेले जनयुद्धका पीडितका लागि गरेका काम देखाउन चुनौती दिएका छन्। चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको जनसभामा बोल्दै बादलले तीन जना प्रधानमन्त्री हुँदा जनयुद्धका पीडितका लागि गरेका कामहरूको विवरण सुनाउन चुनौती दिए।

उनले अहिलेको सरकारले जनयुद्धका योद्धा, घाइते, शहीद परिवारको व्यवस्थापन, संरक्षण, सम्मानको निम्ति ऐतिहासिक निर्णय गरेको दाबी गरे। उनले जनयुद्धमा सहभागी सबैले जीवन निर्वाह भत्ता पाउने व्यवस्था मिलाइएको समेत दाबी गरे। हामीले जनयुद्धका पीडितहरूलाई धोका दियौं, उनीहरूलाई बेवास्ता गर्‍यौं भन्ने आरोप लागेको छ।

म यो मञ्चबाट ती युद्धका नाइकेहरूलाई के भन्न चाहन्छु भने तपाईंहरू प्रधानमन्त्री हुँदा ती युद्धका घाइते, शहीद परिवार, योद्धाका निम्ति के गर्नुभयो, प्रश्न गर्दै उनले भने, तपाईंहरूले केही पनि गर्नुभएन। तपाईंहरूले आरोपमात्र लगाउनुभयो। मलाई गद्दारी गर्‍यो भनेर आरोप लगाएका छन्, म भन्न चाहन्छु यो सरकारको गृहमन्त्रीको हैसियतले ती हिजोका योद्धाका बारेमा महत्वपूर्ण निर्णय गरेको छ। उनले आफूले नभई पार्टीबाट चोइटिएर गएको समूहले जनयुद्धप्रति धोका दिएको आरोप लगाए।

आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन खोज्दा असफल भएर पार्टीबाट एक समूह चोइटिएको भन्दै गल्तीहरूलाई स्वीकारेर आत्मालोचना गर्दै पुनः पार्टीमा फर्कन उनले आह्वान गरे। उनले प्रतिनिधिसभा विघटनलाई जनताले स्वीकार गरिसकेको दाबी गरे। आफूहरू सहभागी भएको कार्यक्रममा जनताको ठूलो उपस्थिति रहेको भन्दै उनले यो नै जनताले विघटनलाई स्वीकार गरेको प्रमाण रहेको बताए। सडकबाट संसद घोषणा गरेर प्रधानमन्त्रीलाई हटाउने तयारी प्रचण्ड नेपाल समूहले गरेको भन्दै उनले अस्थिरता र अराजकतातर्फ नभई शान्ति, सुशासन र स्थायित्व आवश्यक रहेको बताए।