Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने भएका छन्।

नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि २४ सेप्टेम्बरको समय निर्धारण गरेको हो। न्युयोर्कस्थित नेपाली नियोगबाट प्राप्त उक्त जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा पुगेको छ। सोही समयअनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ।

संयुक्त राष्ट्रसंघको संशोधित तालिकाअनुसार २४ सेप्टेम्बर दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म १८ जना नेताले महासभालाई सम्बोधन गर्नेछन्। उक्त सूचीमा नेपालका ‘हेड अफ गभर्मेन्ट’ १७औँ वक्ताका रूपमा राखिएका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा हुने महासभामा अहिलेसम्म ११८ देशका नेताहरूले सम्बोधन गर्ने सूची तयार भएको छ। अधिकांश वक्ता राष्ट्रप्रमुख, सरकारप्रमुख वा विदेशमन्त्री हुनेछन्।

भोटेकोसी विपद्को क्षतिपूर्ति र जलवायु न्यायको विषय उठाउने तयारी

प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दा भोटेकोसीमा आएको विनाशकारी बाढी तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्का विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ।

भोटेकोसीजस्ता विपद् विश्व तापमान वृद्धिसँग सम्बन्धित जोखिमसँग जोडिँदै गएको भन्दै नेपालले भोगेको क्षति, क्षतिपूर्ति र जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

भोटेकोसी विपद्अघि महासभामा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने तयारी थियो। तर भदौ १० गतेको विपद्पछि प्रधानमन्त्री स्वयं महासभामा जाने निर्णय भएको हो।

भ्रमण छोटो बनाउने तयारी

देश विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाको चरणमा रहेकाले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण छोटो बनाउने तयारी भइरहेको छ। महासभामा सम्बोधनपछि प्रधानमन्त्री स्वदेश फर्कने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

यस कारण न्युयोर्कमा प्रधानमन्त्रीका साइडलाइन भेटवार्ताको कार्यक्रमसमेत अहिलेसम्म निश्चित भइसकेको छैन। प्रधानमन्त्रीको उपलब्ध समयअनुसार मात्रै द्विपक्षीय तथा अन्य भेटवार्ता तय गरिनेछ।

प्रधानमन्त्री बनेको पाँच महिनापछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। प्रधानमन्त्री भएपछि उनले अहिलेसम्म कुनै देशका राष्ट्र वा सरकार प्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका छैनन्।

न्युयोर्कमा रहँदा सम्भव भएसम्म अमेरिका, चीन र भारतका नेतृत्वसँग भेटवार्ता गर्ने प्रधानमन्त्रीको प्राथमिकता हुन सक्ने देखिए पनि तत्कालै सरकार प्रमुखस्तरको भेटको सम्भावना स्पष्ट छैन।

महासभाको हालको तालिकामा भारतबाट विदेशमन्त्री एस जयशंकरले सम्बोधन गर्ने उल्लेख छ। चीनका राष्ट्रपति सी चिनफिङ पनि सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमणमा रहने भए पनि महासभामा सहभागी हुने कार्यक्रम छैन। चीनका उपराष्ट्रपति हान चङ र भारतका विदेशमन्त्री जयशंकरले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री पनि प्रतिनिधिमण्डलमा सहभागी हुने

भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो। तर भोटेकोसी विपद्पछि भदौ १८ गते प्रधानमन्त्री शाह स्वयं महासभामा सम्बोधनका लागि जाने निर्णय भएको हो।

प्रधानमन्त्री महासभामा सहभागी हुने भएपछि परराष्ट्रमन्त्री खनाल पनि प्रतिनिधिमण्डलका सदस्यका रूपमा न्युयोर्क जानेछन्। प्रधानमन्त्रीले महासभामा सम्बोधन गर्ने र अन्य द्विपक्षीय तथा साइडलाइन भेटवार्ताहरू परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने सम्भावना रहेको अधिकारीहरूको भनाइ छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

यस्तै परराष्ट्र सचिव अमृतबहादुर राई, मन्त्रालयको संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल तथा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय नियोग प्रमुख लोकबहादुर थापा पनि प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्।