Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री शाहलाई रविको सुझाव : जनताको अपेक्षा बुझेर काम गर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहलाई लक्षित गर्दै सरकारका कामकारबाहीबारे पार्टीले आवश्यक पर्दा प्रश्न उठाइरहने बताएका छन् । उनले पार्टीले सरकारलाई खबरदारी गर्दा त्यसलाई पार्टीभित्रको विवाद, विद्रोह वा फुटका रूपमा व्याख्या नगर्न पनि आग्रह गरेका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरिएको घटनाको भोलिपल्ट चितवन पुगेका लामिछानेले सरकारलाई पार्टीका तर्फबाट सुझाव र खबरदारी गरिनुलाई अन्यथा लिन नहुने बताएका हुन् ।

उनले पार्टीले सरकारलाई घच्घच्याउँदा त्यसलाई पार्टीभित्रको असमझदारीका रूपमा चित्रण गर्ने प्रयास भए पनि रास्वपाले आफ्नो धारणा राख्न नछाड्ने स्पष्ट पारे ।

‘यस्तो कुरामा पार्टीले सरकारलाई कहिलेकाहीँ घच्घच्याउँदा लौ बर्बाद भयो, यिनीहरू फुट्न थाले, उसलाई यसो भन्न थाले, उसो भन्न थाले भनेर दुई वटा फोटो टाँसेर केही गर्नेवाला छैन,’ लामिछानेले भने, ‘रास्वपा भनिरहन्छ, रवि लामिछाने भनिरहन्छ। डराएर होइन, कराएर भनिरहन्छ।’

लामिछानेले लोकतन्त्रको रक्षा र संस्थागत विकासलाई सबैभन्दा महत्वपूर्ण विषयका रूपमा व्याख्या गरे । लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै उनले यसका लागि धेरैले रगत बगाएको र बलिदानी दिएको स्मरण गराए ।

उनका अनुसार स्वतन्त्र प्रेस, मानवअधिकार, अदालत तथा विभिन्न लोकतान्त्रिक संस्थाहरूको स्थापना र संरक्षणका लागि विगतमा ठूलो संघर्ष भएको छ ।

‘आज यो मुलुकको लोकतन्त्र, जसलाई हामीले कम योगदान दिएका होलाऔँ, स्वतन्त्र प्रेस, मानवअधिकार प्रत्याभूति, विभिन्न संस्थाहरू, अदालत यी सबै कुरा यसै प्राप्त भएका होइनन्,’ उनले भने ।

लोकतन्त्रको अवमूल्यन र अपमान गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ । घण्टी बजाउँदै हिँडेर वा कुनै नेताको लोकप्रियताका आधारमा मात्रै लोकतन्त्र प्राप्त नभएको उल्लेख गर्दै उनले यसको महत्व बुझ्न सबैलाई आग्रह गरे ।

‘घण्टी बजाउँदै हिँड्दै, रवि दाइ हाइहाइ भन्दै प्राप्त भएका होइनन्। मान्छे मरेका छन्, रगत बगाएका छन्। त्यसको मूल्य ठूलो छ,’ उनले भने, ‘त्यसको अवमूल्यन, अपमान गर्ने अधिकार हामी कसैलाई पनि छैन।’

आफ्ना लागि लोकतन्त्रभन्दा ठूलो अरू कुनै विषय नरहेको पनि लामिछानेले स्पष्ट पारे । ‘मैले यस कारणले भनेको हुँ, डेमोक्रेसीभन्दा ठूलो केही पनि छैन मेरा लागि,’ उनले भने ।

उनले सरकारका कामकारबाहीबारे पार्टीभित्र र बाहिरबाट प्रश्न उठाउनु फुट वा विद्रोह नभई लोकतन्त्रप्रतिको प्रतिबद्धता भएको जिकिर गरे ।

‘यही कुरा तपाईं हामी सबैले भन्नुपर्ने हुन्छ। त्यो कुनै विद्रोह, विग्रह, फुट या मतान्तरको संकेत होइन। यो त प्रतिबद्धता हो हाम्रो, रास्वपाको प्रतिबद्धता हो,’ उनले भने ।

लामिछानेले आफूहरू आफ्नै नेतृत्वको सरकारको विरोधमा नउत्रिएको पनि प्रस्ट पारे । सरकारलाई आवश्यक सुझाव दिनु र खबरदारी गर्नु जिम्मेवार राजनीतिक अभ्यास भएको उनको भनाइ थियो ।

सरकारको आलोचनाबाट प्रतिपक्षी दलहरू खुसी भए पनि त्यसलाई अस्वाभाविक रूपमा लिन आवश्यक नरहेको उनले टिप्पणी गरे ।

यसैबीच, लामिछानेले सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भन्दै जनभावना बुझेर काम गर्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन् ।

‘म निर्भिक भएर भन्न चाहन्छु– हाम्रो सरकारबाट जनताले गहिरो अपेक्षा गरेको बुझ्न जरुरी छ,’ उनले भने ।