Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
५ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री निकट दुई व्यापारीलाई फाइदा पुग्ने गरी खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा भारी भन्सार छुट दिएको छ ।
सरकारले हालै ल्याएको बजेटमार्फत् प्रधानमन्त्रीका भान्जा गोकुल भण्डारीको ‘नेपाल ग्याँस’ र नेकपा समाजवादीका नेता किसान श्रेष्ठको ‘वान ग्याँस’ कम्पनीले मात्र प्रयोग गरिरहेको खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा ८३ प्रतिशत भन्सार छुट दिने प्रावधान ल्याएको हो ।
फलामे ग्याँस सिलिण्डरको विकल्पका रुपमा चित्रण गरिएको कम्पोजिट सिलिण्डर हाल नेपालमा यी दुई व्यापारीको कम्पनीले मात्र प्रयोग गरिरहेका छन् । यी सिलिण्डरमा यसअघि ३० प्रतिशत भन्सार लाग्दै आएकोमा त्यसमा २५ प्रतिशत विन्दुले घटाएर ५ प्रतिशतमा झारिएको छ ।
नेपालमा राजनीतिक उच्च नेतृत्वसँग जोडिएको दुई वटा कम्पनीले मात्रै यस्तो सिलिण्डरको कारोबार गर्नु र तिनै कम्पनीको सिलिण्डरमा अप्रत्याशित भन्सार महसुल घटेपछि कतिपयले यसलाई राजनीतिक आवरणमा लिइएको लाभको रुपमा व्याख्या गरेका छन् ।
नेपाल ग्याँसका मालिक भण्डारी प्रधानमन्त्री प्रचण्डका बहिनीज्वाइँ खेम भण्डारीका छोरा हुन् । प्रधानमन्त्री प्रचण्ड र समाजवादीका नेता श्रेष्ठ बीच निकट सम्बन्ध छ ।
सरकारले कम्पोजिट सिलिण्डरको भन्सार घटाएको विषय शंकास्पद रहेको ग्याँस उद्योगी शिव घिमिरे बताउँछन् । उनका अनुसार संसारमा लगभग यस्तो सिलिण्डरको प्रयोग फेल भइसकेको छ । भारतमा प्रधानमन्त्रीस्तरबाटै यस्तो ग्याँस सिलिण्डरको प्रयोगका लागि अभियान थाल्दा पनि सफल नभएको घिमिरेको दाबी छ ।
‘सस्तो मूल्यमा पाइने फलामे सिलिण्डर करिब डेढ करोडको संख्यामा बजारमा रहेकै अवस्थामा महँगो मूल्यको सिलिण्डर उपभोक्तालाई भिडाउन प्रपञ्च रचिएको हुनसक्छ, घिमिरेले भने, यस्तो सिलिण्डरबाट उपभोक्तामा थप आर्थिक भार पर्ने भएकाले सरकारले बरु अहिलेको सिलिण्डरको सुरक्षाका लागि कार्यक्रम ल्याउनुपर्छ ।
कम्पोजिट सिलिण्डरको मूल्य नै महँगो पर्ने भएकाले उपभोक्ताले यो सिलिण्डर नरुचाएको घिमिरेले बताए । उपभोक्ता पुरानै सिलिण्डरमा बानी परेका छन् , त्यसैले तिनै सिलिण्डर सुरक्षित बनाउन सरकारले कार्यक्रम घोषणा गर्नुपर्छ
के हो कम्पोजिट सिलिण्डर ?
अन्य सिलिण्डरको तुलनामा यस्तो सिलिण्डरलाई विष्फोटरहित खाना पकाउने ग्याँस सिलिण्डर मानिन्छ । ग्याँसका निर्माता कम्पनीहरुका अनुसार यस्ता सिलिण्डरसिलिण्डरहरू फाइबर र प्लास्टिकको संयोजनबाट बनेका हुन्छन् । जुन आगो प्रतिरोधी हुन्छन् ।
आगोमा पर्दा समेत विस्फोट नहुने यस्ता सिलिण्डर अन्य सिलिण्डरको तुलनामा निकै महँगो हुन्छ । यसैकारण फलामे ग्याँस सिलिण्डरभन्दा सुरक्षित विकल्पको रुपमा लिइन्छ ।
यस्ता सलिण्डर पारदर्शी हुने भएकाले ग्राहकहरूले आफ्नो सिलिण्डरमा रहेको कन्टेनरमा एलपीजी ग्याँसको मात्रा हेर्न मिल्छ । सिलिण्डरहरूमा ग्याँस चुहावट पत्ता लगाउने, बन्द–अफ भल्भ र सुरक्षा सुरक्षा जस्ता केही अन्य सुरक्षा सुविधाहरू हुन्छन् ।
नेपालमा नेपाल ग्यास उद्योगले दुई साइजमा यस्तो सिलिण्डर उपलब्ध हुन्छ । १४.२ केजीको सिलिण्डरको मूल्य ९ हजार २५५ रुपैयाँ र अर्को ५ किलोको सिलिण्डरको मूल्य ६ हजार ९५५ रुपैयाँ पर्ने गरेको थियो। भन्सार छुट दिएपछि यी सिलिण्डर २५ प्रतिशतसम्म कम भएर १४ दशमलव २ केजीको ६ हजार ९ सय ४१ रुपैयाँ र ५ किलोको ५ हजार २ सय १६ रुपैयाँसम्म पर्नसक्छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल