Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सधैं नकारात्मक टिप्पणी मात्रै गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन्। हालै भारत र चीनले नेपाललाई सोध्दै नसोधी नेपाली भूमि लिपुकलेकलाई आफूहरू दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गरेका छन्। जसप्रति नेपालले गम्भीर आपत्ति जनाइसकेको छ र लगत्तै सुरु भएको प्रधानमन्त्रीको चीन भ्रमणमा यो मुद्दा उठाइने अपेक्षा गरिएको छ। यसैबीच प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्नासाथ मेयर बालेनले सामाजिक सञ्जालमार्फत चीन सरकारलाई लिपुलेक हाम्रो हो भन्ने कुरा सम्झाइदिन अनुरोध गरेका हुन्। चीन भ्रमणको शुभकामना दिँदै मेयर बालेनले लेखेका छन्, नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला। अल द बेस्ट। हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सांघाई सहयोग संगठन एससीओको २५औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेका हुन्। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारी छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकमा जानकारी गराएअनुसार भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिनु हो। सन् २००१ मा स्थापना गरिएको एससीओ आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक बनेको छ। चीन, रुस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन्। अफगानिस्तान र मंगोलिया दुई देश पर्यवेक्षक राष्ट्र हुन्। नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सांघाई सहयोग संगठनका संवाद साझेदार डायलग पार्टनर हुन्। नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार छ। यस संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो दृष्टिकोण र प्राथमिकता स्पष्ट रूपमा उजागर गर्नु एवं यसमार्फत अत्यधिक लाभ हासिल गरी देशको हित प्रवर्द्धन गर्नु भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन्। भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेट हुने कार्यक्रम पनि छ। बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति हान चङसँग पनि प्रधानमन्त्रीले भेट गर्नेछन्। चीनका राष्ट्रपति र उपराष्ट्पतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा पनि प्रधानमन्त्री सहभागी हुनेछन्। भदौ १६ सेप्टेम्बर १ मा थियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ। भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ। थियानजिनबाट प्रधानमन्त्री त्यही दिन बेइजिङ जाने कार्यक्रम छ। शिखर सम्मेलनका क्रममा रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी प्रधानमन्त्री ओलीले गराएका छन्। यसपछि अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपालको प्रतिनिधि मण्डल भदौ १८ गते चीन सरकारले बेइजिङमा आयोजना गर्ने फासीवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्ध जितेको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम छ। चीन सरकारले जानकारी दिएअनुसार त्यसमा ५० भन्दा बढी देशले सहभागिता जनाउने छन्। यस भ्रमणबाट नेपाल र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनाका साथ एससीओ शिखर सम्मेलनमा सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने विश्वास प्रधानमन्त्री ओलीले लिएका छन्। चीनबाट प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश प्रस्थान गर्ने तालिका छ। त्यतिन्जेलका लागि उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल