Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीले पछ्याउँदा पछ्याउँदै अर्को एटीएम पनि ध्वस्त

काडमाडौं । गत साउन ३ गते राति २ बजेर ८ मिनेटमा पोखरा २७ तालचोकको एनआईसी एसिया बैंकको एटीएम तोडफोड भएको जानकारी दियो। बैंकको प्रधान कार्यालयबाट सूचना पाउनासाथ प्रहरी उक्त घटनाको अनुसन्धानमा परिचालन भयो। सूचना पाएको ५ मिनेटपछि प्रहरी उक्त एटीएम बुथमा पुग्दा एटीएम फोड्ने प्रयास गरिएको थियो। प्रहरीले त्यहाँको सीसीटीभी फुटेज मगाएर ती व्यक्तिको खोजि गर्न थाल्यो। ३ बजेर १५ मिनेटमा घटनाका अभियुक्तले प्रयोग गरेको मोटरसाइकल प्रहरीले फेला पार्यो। ग१०प २९६३ नम्बरको बुलेट मोटरसाइकल र हेल्मेट कोलेफाँट अष्ठचोकबाट बरामद गर्यो। तर प्रहरी अभियुक्तसम्म पुग्न सकेको थिएन। बिहान ६ बजेतिर पोखराको अर्घौचोकमा रहेको अर्को एटीएम मेसिन फोडेर रकम चोरी भएको खबुर पुग्यो। प्रहरी एउटा एटीएम फोडेको सूचनापछि ती व्यक्तिलाई खोज्न थालेको थियो तर अभियुक्तले भने अर्को पनि एटीएम फोडिसकेका रहेछन्।
एनएमबीको भने एटीएम फोडेर रकम पनि चोरी भएको रहेछ। एटीएम मेसिन फोडी दुई वटा क्यासकेटबाट नगद चोरी भएको थियो। ती क्यासकेट फोरिएको अवस्थामा बिचारी चौतारामा फेला पर्यो। प्रहरीले दुवै घटनास्थलको फिङगर प्रिन्ट र सीसीटीभी फुटेज संकलन गर्यो। घटनास्थलको मुचुल्का गर्यो। दुवै एटीएम बुथ एउटै व्यक्तिले फुटाएको देखियो। घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिसुवाबाट संयुक्त टोली खटिएको थियो।
अन्त पनि घटना हुन नदिनका लागि कास्की जिल्लामा रहेका सम्पूर्ण बैंक, वित्तिय संस्थाहरुलाई सुरक्षा सावधानीका बारेमा प्रहरीले जानकारी गरायो। प्रहरीले अहिलेसम्म घटनामा प्रयोग भएको मोटरसाइकल मात्रै बरामद गरेको थियो। त्यसैका आधारमा अभियुक्तको पहिचान गर्ने प्रयास गरिरहेको थियो। मोटरसाइकल धनीको खोजी गर्न थाल्यो। मोटरसाइकल तालचोककै बिजय गौतमको भएको खुल्यो। तर विजयले त्यसै राति मोटरसाइकल चोरी भएको जानकारी दिए।
एटीएम मेसिन भेण्डरको प्रतिवेदनमा एनएमबी बैंकको एटीएम मेसिनको चाबी पूर्ण रुपमा बन्द नभएको खुल्यो। यता प्रहरी प्रधान कार्यालयले भने देशभरका एटीएम बुथको सुरक्षाका लागि देशभर परिपत्र गर्यो। घटनामा संलग्न व्यक्ति भने एक महिना पछि मात्रै पक्राउ परेका छन्।
पोखरा महानगरपालिका ३० डुँडाको मुख बस्ने २१ वर्षीय भेडे भन्ने अनिश तामाङले एटीएम फोडेर चोरी गरेको खुलेको छ। उनलाई प्रहरीले नेपाल भारत सीमाबाट पक्राउ गरेको जनाएको छ। उनी ६–७ महिनादेखि पोखरामै हार्डवेयर पसलमा काम गर्दै आएका थिए। उनको साथबाट प्रहरीले १९ हजार रुपैयाँसहित विभिन्न सामान पनि बरामद गरेको छ। उनीमाथि चोरी तथा डाँकासम्बन्धी मुद्दा अगाडि बढाइएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।