Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फाल्कल्यान्ड ब्यानर प्रदर्शनपछि अर्जेन्टिना फिफाको निगरानीमा

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिना खेलपछिको उत्सवका कारण विवादमा परेको छ। खेलाडीहरूले फाल्कल्यान्ड टापुमाथि अर्जेन्टिनाको दाबी झल्किने ब्यानर प्रदर्शन गरेपछि फिफाबाट कारबाहीको सम्भावना बढेको छ।

अमेरिकाको एटलान्टामा बुधबार सम्पन्न सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको थियो। तर, खेल सकिएपछि केही खेलाडीले मैदानमै ‘फाल्कल्यान्ड अर्जेन्टिनाको हो’ भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै विजय उत्सव मनाएका थिए।

फाल्कल्यान्ड टापुलाई लिएर अर्जेन्टिना र बेलायतबीच दशकौँदेखि सार्वभौमसत्ताको विवाद रहँदै आएको छ। दक्षिण–पश्चिम एटलान्टिक महासागरमा अवस्थित उक्त टापुका विषयमा सन् १९८२ मा दुई देशबीच ७४ दिनसम्म युद्ध भएको थियो। उक्त युद्धमा ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो।

फिफाको नियमअनुसार फुटबल प्रतियोगितामा राजनीतिक सन्देश, विवादास्पद अभिव्यक्ति वा राजनीतिक प्रदर्शन गर्न निषेध गरिएको छ। यसअघि पनि सन् २०१४ मा यस्तै प्रकृतिको ब्यानर प्रदर्शन गरेको भन्दै अर्जेन्टिनी फुटबल संघलाई फिफाले २० हजार पाउन्ड जरिवाना गरेको थियो।

यसपटक पनि ब्यानर प्रदर्शनलाई लिएर फिफाले घटनाको अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। नियम उल्लंघन भएको निष्कर्ष निक्लिए अर्जेन्टिनी फुटबल संघमाथि जरिवाना वा अन्य अनुशासनात्मक कारबाही हुन सक्ने सम्भावना रहेको छ।

खेलअघि नै अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले फुटबललाई राजनीतिसँग नजोड्न आग्रह गरेका थिए। तर, जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिलार्रुएलले सामाजिक सञ्जाल एक्समार्फत “यो सामान्य खेल मात्र थिएन” भन्दै ब्यानर प्रदर्शनको खुलेर समर्थन गरेकी छन्।