Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जेनजी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस अन्तिम साता दोस्रो विशेष महाधिवेशन गरेर सच्चिएको सन्देश दियो । महाधिवेशनको डेढ महिनामै सभापति गगन थापासहितले चुनावको सामना गर्नुपर्यो। पार्टीबाट पाखा लागेको शेरबहादुर देउवा नेतृत्वको विशेष महाधिवेशन विरोधी पक्ष अदालत गएर मौन बस्यो । निर्वाचनमा नयाँ शक्तिको कडा टक्कर र आन्तरिक द्वन्द्वका कारण १६५ क्षेत्रमा उम्मेदवार उठाएको कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा खुम्चियो । समग्रमा ३८ सिट जितेको कांग्रेसका लागि यो इतिहासकै ठूलो धक्का थियो । कतिसम्म भने विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापासहित सबै पदाधिकारी पराजित भए । अप्रिय नतिजाको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार राजीनामाको घोषणा गरिसकेका छन् । उपसभापति विश्वप्रकाश शर्माले उनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार नै केन्द्रीय कार्यसमिति बैठकमा पेश गरे । शुक्रबारदेखि सुरु भएको बैठकले विभिन्न ८ आधार दिँदै आइतबार गगनको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको छ । पार्टी बैठकले २१ क्षेत्रमा गुटबन्दीकै कारण हारे व्यहोरेको निष्कर्ष निकालेको छ । गुटबन्दीकै कारण निर्वाचनमा सभापति थापाले प्रतिस्पर्धा गरेको सर्लाही–४ र निवर्तमान सभापतिको क्षेत्र डडेल्धुरा गएका नैनसिंह महर हारेको निचोड कांग्रेसको छ। उनीहरू दुवैलाई हराउन देउवा नेतृत्वको इतर पक्षले सामदाम दण्डभेदको गरेको बुझाइ कांग्रेस नेतृत्वको छ। गगनलाई हराउन गरिएका प्रयासका प्रमाण सामाजिक सञ्जालमै सार्वजनिक भए । उता सिंगापुरबाटै देउवाले सयौँजनालाई फोन गरेर कांग्रेस उम्मेदवार महरलाई भोट नहाल्न भनेको खबर पनि आइसकेको छ। तर यस कुरालाई महरले भने स्वीकारेका छैनन् । उता गगन भने चुनावमा हारेपछि अहिलेसम्म सार्वजनिक रुपमा बोल्न सको छैनन् । निर्वाचनको नतिजा आएलगत्तै इतर पक्षका नेता मीन विश्वकर्माले शेरबहादुर देउवा र थापा गरि कांग्रेसमा दुई सभापति रहेको बताए । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला र जीतजंग बस्नेतले पनि विशेष महाधिवेशनको औचित्य नरहेको टिप्पणी गरेका छन् । यसले कांग्रेस अब अर्को शक्ति संघर्षमा गएर औपचारिक फुटतर्फ धकेलिने जोखिम बढाएको छ। आइतबार सानेपामा संस्थापनको बैठक चलिरहँदा इतर पक्षले धुम्बाराहीमा आफ्नो रणनीति बनाइरहेको थियो। विशेष महाधिवेशन इतर पक्षको गतिविधि अब समानान्तर कमिटी सक्रिय बनाउनेतिर अघि बढेको छ। आइतबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा धुम्बाराहीमा कार्यसम्पादन समितिको समानान्तर बैठक बस्यो । यस बैठकले देउवा र शेखर कोइरालानिकट चौधौँ महाधिवेशनको कार्यसमिति बोलाउने निर्णय नै गर्यो । बैठकमा खड्का, डा। शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए । उपचारका लागि सिंगापुर गएका सभापति देउवा अर्को हप्ता नेपाल फर्किने तयारीमा छन् । देउवानिकट नेता गुरू बरालका अनुसार देउवा फर्किएपछि कार्यसमिति बैठक बोलाएर पन्ध्रौँ महाधिवेशनको मिति तय गरिनेछ । देउवा अहिले हङकङ पुगेका छन् । उनी नेपाल फर्किएपछि उनको पक्षले अझै सक्रियता बढाउने तयारी गरेको छ। थापा र विश्वप्रकाश शर्मा कुनै शक्तिको स्वार्थमा परेकै कारण फागुन २१ को निर्वाचनमा पार्टीले ठूलो हार व्यहोर्नु परेको उनको आरोप छ । यी घटना हेर्दा कांग्रेसका दुई पक्ष यतिबेला समानान्तर मुद्दामा बहस चलाइरहेको देखिन्छ । यही कारण यतिबेला कांग्रेसमा पुनः फुट आउने आशंका समेत हुन थालेको छ ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल