Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि डिलरको कमिसन बढाउन चलखेल सुरू

काठमाडौं । केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाएको आयल निगमले अब फेरि डिलरको कमिसन वृद्धि गर्न छलफल सुरू गरेको छ । यसमा केही विचौलिया पनि लागेका छन् । व्यवसायीले केही कर्मचारीलाई पनि लबिङ गरेका छन् । गत सोमबार विक्रेता र निगमबीच कमिसन बढाउने विषयमा छलफल भएको थियो । निगमका केही अधिकारीले भर्खरै ढुवानी भाडा वृद्धि गरेकाले कमिसन बढाउने निर्णय केही समय धकेल्ने प्रस्ताव गरेका थिए । तर, विक्रेताहरूले आफूहरू घाटामा रहेको भन्दै तत्कालै कमिसन बढाउन सर्त राखेको स्रोतले बतायो । नेपाली कांग्रेसनिकट उद्योग तथा अपूर्ति समितिका सहसंयोजक रहेका पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरा र विश्व अर्यालले पेट्रोलिय पदार्थ ढुवानीको २० प्रतिशत भाडा वृद्धि गर्न निरन्तर दबाब दिएका थिए । कमिसन वृद्धि गर्न पनि उनीहरू निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी र आपूर्तिमन्त्री दिलेन्द्र बडूसमक्ष पहुँच बढाइरहेका छ्न् । अहिले पेट्रोलियम पदार्थको मूल्य जति भएपनि निगमले पेट्रोलको १५० र डिजेलको १३३ रूपैयाँ मूल्यसम्मको लागि मात्रै कमिसन दिँदै आएको छ । डिलरले ग्यास प्रतिसिलिन्डरको ३४६ रूपैयाँ कमिसन पाउँछन् । आयल निगमले डिलरलाई दिने कमिसनलाई डिलर कमिसन तथा सञ्चालन खर्च भनिन्छ । त्यस्तै १ सय रूपैयाँ बराबारको पेट्रोल बिक्री गर्दा ३.३९ रूपैयाँ, अर्को ५० रूपैयाँ मूल्यमा १।६९ रूपैयाँ कमिसन पाउने गरेका छन् । डिजेलमा १ सय रूपैया बराबरको बिक्री गर्दा ३.१२ रूपैयाँ कमिसन दिइने गरिएको छ । बाँकी ३३ रुपैयाँको ३।१२ का दरले नै कमिसन पाउँछन् । पेट्रोल र डिजेलमा २ रूपैयाँसम्म कमिसन वृद्धि गर्ने गरी व्यवसायीले लबिङ गरिरहेको बताइएको छ । ग्यासको प्रतिसिलिन्डर ४ सय पुर्‍याउनुपर्ने माग छ । नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यया डिलरहरूले पहिलेदेखि नै कमिसन वृद्धिको कुरा उठाएको बताउँछन् । उनले भने, ‘निगमले कमिसनमा क्याप लगाएपछि डिलरहरूले आफ्नो कमिसन वृद्धि गर्न पहिलेदेखि नै भन्दै आएका छन् । अहिले ठ्याक्कै यति वृद्धि गर्न भनेर कुनै कुरा भएको छैन । पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरा सामान्य छलफलका लागि मात्रै गत सोमबार निगम आएका हुन् ।’ पेट्रोलियम डिलर्स एशोसियशनको अध्यक्ष लिलेन्द्र प्रधानले भने निगमसँग छलफल भएको बताए । उनले भने, ‘हामीले डिलर कमिसन वृद्धिका विषयमा पनि कुरा गरेका हौं । निगमले पहिले ढुवानी भाडा वृद्धि गर्ने र त्यसपछि कमिसन वृद्धि गर्ने भनेको थियो । अब हामीले कमिसन वृद्धिका लागि कुरा उठाउने छौं ।’